Techie IT
२०८२ माघ १८, आइतबार

लोकसेवाको प्रहरी जवान परीक्षामा नक्कली परिक्षार्थी, सुर्खेतबाट १२ जना पक्राउ


लोकसेवा आयोग सुर्खेत कार्यालयद्वारा सञ्चालित प्रहरी जवान (जनपद) पदको लिखित परीक्षामा नक्कली परीक्षार्थी प्रयोग गरी परीक्षा दिएको आरोपमा १२ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार २०८२ माघ १७ गते सम्पन्न परीक्षामा अर्काको नाममा नक्कली परीक्षार्थी बनेर सहभागी हुने, नागरिकता र प्रवेशपत्रमा फोटो तथा हस्ताक्षर परिवर्तन गरी किर्ते कागजात प्रयोग गर्ने तथा आर्थिक लाभ लिने कार्यमा संलग्नहरूलाई नियन्त्रणमा लिइएको हो ।

प्रहरीले नक्कली परीक्षार्थी, परीक्षा दिन लगाउने तथा मतियारको भूमिकामा रहेका १२ जनामाथि लिखत किर्ते र आपराधिक लाभसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाएको जनाएको छ ।

पक्राउ पर्नेहरूमा जाजरकोट छेडागाड नगरपालिका–११ का केशव थापा, दैलेख दुल्लु नगरपालिका–१ का रमेश नेपाली, सुर्खेत गुर्भाकोट नगरपालिका–१३ का वीरबहादुर ठाडा, जाजरकोट कुसे गाउँपालिका–२ का विपेश सिंह, ललित रावल, सूर्य किरण शाही, निरज शाही र नवराज विक, जाजरकोट छेडागाड नगरपालिका–१० का चन्द्र शाह, बाँके बैजनाथ गाउँपालिका–२ का रामु कार्की, बैजनाथ–१ का मोतिलाल थारु तथा जाजरकोट कुसे गाउँपालिका–२ घर भई हाल वीरेन्द्रनगर–९ बस्ने पूर्णबहादुर सिंह रहेका छन् ।

प्रहरीका अनुसार केशव थापा, रमेश नेपाली, वीरबहादुर ठाडा, चन्द्र शाह, नवराज विक, रामु कार्की र मोतिलाल थारु नक्कली परीक्षार्थीका रूपमा सहभागी थिए भने अन्यले परीक्षा दिन लगाउने वा मतियारको भूमिका खेलेका थिए ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मोहनजंग बुढथापाले घटनाबारे थप अनुसन्धान भइरहेको जानकारी दिँदै लोकसेवाजस्ता संवेदनशील परीक्षामा हुने यस्ता गतिविधि गम्भीर अपराध भएकाले दोषीमाथि कडा कारबाही गरिने बताए ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट