लुटिएको पेस्तोलसहित एक पक्राउ
जेनजी आन्दोलनका क्रममा इलाका प्रहरी कार्यालय अनारमनी बाट लुटिएको एक थान पेस्तोल र ४० राउन्ड गोलीसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा कनकाई नगरपालिका–८ का २२ वर्षीय सुजय राजवंशी रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता खगेन्द्रबहादुर खड्काले जानकारी दिए।
विशेष सूचनाका आधारमा प्रहरीले स्थानीय तुलबहादुर थापा मगरको घरमा आइतबार छापा मारेको थियो। सो क्रममा उनका २२ वर्षीय छोरा सौगात थापा मगरले घरपछाडि रहेको कुखुराको खोरमा प्लास्टिकको ड्रमभित्र लुकाएर राखेको ९८९ एमएमको पेस्तोल एक थान र ४० राउन्ड गोली बरामद गरिएको प्रहरीले जनाएको छ।
घटनामा संलग्न सौगात फरार रहेको र उनको खोजी भइरहेको प्रहरीले बताएको छ। लुटपाटमा संलग्न राजवंशीलाई मुलुकी अपराध संहिता २०७४ बमोजिम कारबाही गरिने जनाइएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस