काठमाण्डौंका पूर्व सीडीओ रिजाल पक्राउ, के के मुद्धा लाग्दैछन् ?
काठमाण्डौंका पूर्व प्रमुख जिल्ला अधिकारी (सीडीओ) छवि रिजाल पक्राउ परेका छन्। अपराध अनुसन्धान कार्यालयको टोलीले उनीमाथि चलिरहेको अनुसन्धानको क्रममा आज पक्राउ गरेको हो।
रिजाल जेनजी आन्दोलनको समयमा काठमाडौंको सीडीओ थिए र सोही पदमा रहँदा २३ भदौको आन्दोलनमा गोली चलाउन आदेश दिएको आरोप छ।
त्यसअघि उनी गृह मन्त्रालयको प्रशासन महाशाखाका प्रमुख थिए। तत्कालीन गृहमन्त्री रमेश लेखकको पालामा प्रशासन महाशाखा प्रमुख भएका रिजालमाथि कर्मचारीलाई अध्यागमन कार्यालय र अन्य आकर्षक पदमा पठाउँदा पेशागत आचरण विपरित कार्य गरेको आरोप पनि छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा पेश गरेको विवरण अनुसार, रिजालमाथि भ्रष्टाचार तथा अस्वभाविक कार्यसम्पादनको अनुसन्धान भइरहेको छ। यसमा गृह मन्त्रालयका तत्कालीन कर्मचारी, निजी सचिव बद्री तिवारी, स्वकीय सचिव जनक भट्ट, गृहसचिव गोकर्णमणि दुवाडी, अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका प्रमुख तिर्थराज भट्टराई लगायतको सेटिङसमेत समावेश छ।
हाल रिजाललाई सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा राखिएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस