महान्यायाधिवक्ता कँडेलविरुद्ध सर्वोच्चमा रिट, नियुक्ति बदरको माग
नव नियुक्त महान्यायाधिवक्ता नारायणदत्त कँडेलको योग्यतामाथि प्रश्न उठाउँदै सर्वोच्च अदालतमा रिट दायर गरिएको छ।
बुधबार आठ जना अधिवक्ताले कँडेलको योग्यता नपुगेको दाबी गर्दै रिट दायर गरेका हुन्। उक्त रिटको पेसी बिहीबारका लागि तोकिएको छ।
रिटमा संविधानको धारा १५७ (३) र १२९ (५) ले तोकेको मापदण्ड कँडेलले पूरा नगरेको उल्लेख गरिएको छ। साथै, राष्ट्रपतिबाट चैत २२ गते गरिएको नियुक्ति र प्रधानन्यायाधीशबाट भएको शपथसमेत बदर गर्न माग गरिएको छ।
मुद्दाको अन्तिम टुंगो नलागेसम्म कँडेललाई महान्यायाधिवक्ताको हैसियतमा कुनै पनि काम नगर्न/नगराउन अन्तरिम आदेश जारी गर्न पनि माग गरिएको छ।
यसअघि पनि कँडेलको योग्यतामाथि प्रश्न उठाउँदै रिट दायर भएको थियो, तर उक्त रिट दरपीठ भएको थियो।
संविधानअनुसार महान्यायाधिवक्ता बन्न सर्वोच्च अदालतको न्यायाधीश हुने योग्यता हुनुपर्ने व्यवस्था छ। कानुनमा स्नातक उपाधि हासिल गरी कम्तीमा १५ वर्ष निरन्तर वकालत गरेको वा न्याय तथा कानुन क्षेत्रमा १५ वर्ष योगदान दिएर विशिष्ट कानुनविदका रूपमा ख्याति प्राप्त गरेको व्यक्ति मात्र उक्त पदका लागि योग्य हुने प्रावधान छ।
रिट निवेदकहरूले कँडेलले आवश्यक १५ वर्ष निरन्तर वकालत नगरेको दाबी गर्दै उनको नियुक्ति असंवैधानिक रहेको बताएका छन्।



तपाईको प्रतिक्रिया दिनुहोस