शनिवारको दिन यी ३ सुकुमबासी बस्तीमा डोजर चलाइने, प्रतिकार गरे गोली सम्म चल्न सक्ने
जिल्ला प्रशासन कार्यालय काठमाडौँले वैशाख १२ गते बिहानदेखि काठमाडौंका तीन स्थानमा रहेका सुकुमबासी बस्ती हटाउने निर्णय गरेको छ।
बिहीबार प्रमुख जिल्ला अधिकारी ईश्वर राज पौडेलको अध्यक्षतामा बसेको जिल्ला सुरक्षा समितिको बैठकले उक्त निर्णय गरेको हो। बैठकपछि उनले काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डङ्गोल र प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंसँग पनि थप छलफल गरेका थिए।
छलफलपछि पहिलो चरणमा थापाथली, गैह्रिगाउँ र जडीबुटीस्थित मनहरा खोलाको किनारमा रहेका बस्ती हटाउने निर्णय गरिएको हो। प्रशासनका अनुसार शनिबार बिहान ६ बजेदेखि डोजर प्रयोग गरेर घर–टहरा हटाइनेछ। मनहरा खोलाको भक्तपुरतर्फको बस्तीबारे भने सम्बन्धित प्रशासनले छुट्टै निर्णय गर्ने जनाइएको छ।
प्रशासन, महानगर, नेपाल प्रहरी र सशस्त्र प्रहरीले ती क्षेत्रमा माइकिङ गरी वैशाख ११ गते साँझ ७ बजेसम्म घर–टहरा खाली गर्न सूचना दिएका छन्। घरभित्रका सामान, चौपाया तथा अपाङ्ग, बालबालिका, गर्भवती, सुत्केरी र वृद्धवृद्धालाई प्राथमिकताका साथ सुरक्षित स्थानमा सार्न आग्रह गरिएको छ।
प्रशासनले अतिक्रमित क्षेत्र खाली गराउँदा अवरोध गरे कडा कारबाही गरिने चेतावनी पनि दिएको छ। साथै आगामी १०–१५ दिनभित्र वास्तविक भूमिहीनको पहिचान गरी बसोबासको वैकल्पिक व्यवस्था गर्ने विषयमा समेत छलफल भइरहेको जनाइएको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईका अनुसार बस्ती हटाउने क्रममा आवश्यक सुरक्षा व्यवस्था मिलाइनेछ भने अन्य व्यवस्थापन सम्बन्धित निकायहरूले सम्हाल्नेछन्।



तपाईको प्रतिक्रिया दिनुहोस