रौतहटमा घरमै पासपोर्ट पुर्याउने सेवा सुरु
जिल्ला प्रशासन कार्यालय रौतहटले सेवाग्राहीको राहदानी (पासपोर्ट) घरमै पुर्याउने नयाँ सेवा सुरु गरेको छ। जिल्ला प्रशासन कार्यालय र जिल्ला हुलाक कार्यालय रौतहटबीच गत वैशाख २४ गते भएको सम्झौताअनुसार पहिलो चरणमा २१ जना सेवाग्राहीलाई घरमै पुगेर राहदानी वितरण अभियान सुरु गरिएको हो।
बुधबार प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले गौर नगरपालिका–२ महादेवपट्टीका सेवाग्राही राजु राम र विकास पासवानको घरमै पुगेर राहदानी हस्तान्तरण गरेका थिए।
राहदानी वितरण कार्यक्रमका क्रममा प्रजिअ भुसालले सरकारी सेवा नागरिकको घरदैलोमै पुर्याउने उद्देश्यका साथ यो अभियान सुरु गरिएको बताए। उनका अनुसार हुलाक सेवामार्फत राहदानी वितरण गर्दा सेवाग्राहीले कार्यालयसम्म बारम्बार धाउनुपर्ने झन्झटबाट मुक्ति पाउनेछन् भने समय र खर्चसमेत बचत हुनेछ।
जिल्ला प्रशासन कार्यालय र जिल्ला हुलाक कार्यालयको सहकार्यमा लागू गरिएको यो व्यवस्थाअन्तर्गत अब सेवाग्राहीले घरमै राहदानी प्राप्त गर्न सक्नेछन्। जिल्ला हुलाक कार्यालय रौतहटका प्रमुख देवनाथ यादवका अनुसार घरमै राहदानी प्राप्त गर्न चाहने सेवाग्राहीले हुलाक शुल्कस्वरूप ५५ रुपैयाँ बराबरको टिकट खर्च व्यहोर्नुपर्नेछ। उनले वितरण हुन बाँकी तथा पुराना राहदानीसमेत स्थानीय तहसँग समन्वय गरी हुलाकमार्फत सम्बन्धित नागरिकको घरमै पुर्याउने तयारी भइरहेको जानकारी दिए।
यादवका अनुसार ग्रामीण भेगका नागरिक, ज्येष्ठ नागरिक, महिला, विद्यार्थी तथा वैदेशिक रोजगारीको तयारीमा रहेका सेवाग्राहीका लागि यो सेवा विशेष रूपमा लाभदायी हुने अपेक्षा गरिएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस