भारतीय हस्तक्षेपको विरोध गर्दा राजधानीमै धरपकड: 'जेनजी' अभियन्ता कालोपुलबाट पक्राउ
नेपाली भूमि सुस्तामा भारतीय प्रहरी प्रवेश गरेको विरोधमा प्रदर्शन गरेर फर्कँदै गरेका 'राष्ट्रिय जेनजी नागरिक अभियान'का दुई अभियन्तालाई प्रहरीले बीच बाटोबाटै पक्राउ गरेको छ।
काठमाडौँको कालोपुल क्षेत्रबाट नियन्त्रणमा लिइएका अभियानका अभियन्ताद्वय अजय सोडारी र वीरजंग विकलाई हाल सिंहदरबार वृत्तको हिरासतमा राखिएको छ।
सुस्तामा भएको भारतीय हस्तक्षेपको विरोधमा अभियानले शुक्रबार माइतीघर मण्डलामा विरोध प्रदर्शन आयोजना गरेको थियो। प्रदर्शनका क्रममा सहभागीहरूले "भारतीय दादागिरी बन्द गर", "नेपाली भूमिको रक्षा गर" जस्ता नाराबाजी गर्दै आक्रोश पोखेका थिए।
अभियन्ताहरूलाई के-कुन अभियोगमा पक्राउ गरिएको हो भन्नेबारे प्रहरीले हालसम्म कुनै औपचारिक धारणा सार्वजनिक गरेको छैन। यता अभियानले भने शान्तिपूर्ण प्रदर्शनमा उत्रिएका नागरिकलाई नियन्त्रणमा लिनु राज्यद्वारा अभिव्यक्ति स्वतन्त्रतामाथि गरिएको ठाडो हस्तक्षेप भएको दाबी गरेको छ। घटनाको विस्तृत विवरण आउन बाँकी छ।



तपाईको प्रतिक्रिया दिनुहोस