निर्मला पन्त प्रकरणमा भ्रामक समाचार लेख्ने पत्रकार भण्डारी पक्राउ
उच्च अदालतको फैसला कार्यान्वयनका क्रममा कञ्चनपुरका पत्रकार खेम भण्डारी पक्राउ परेका छन्। कञ्चनपुरका तत्कालीन प्रहरी उपरीक्षक (एसपी) दिल्लीराज विष्टका छोरा किरण विष्टले दायर गरेको गालीबेइज्जती मुद्दामा अदालतले दोषी ठहर गरेपछि भण्डारीलाई पक्राउ गरिएको हो।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) टेकबहादुर रावतका अनुसार अदालतको फैसला कार्यान्वयनका लागि उनलाई नियन्त्रणमा लिइएको हो।
१३ वर्षीया बालिका निर्मला पन्त बलात्कार-हत्या प्रकरणमा तथ्यहीन रूपमा आफ्नो नाम जोडेर भ्रामक समाचार लेखेको भन्दै किरण विष्टले भण्डारीविरुद्ध गालीबेइज्जती मुद्दा दायर गरेका थिए।
सुरुमा जिल्ला अदालतले पत्रकार भण्डारीलाई एक महिना कैद, १० हजार रुपैयाँ जरिवाना र एक लाख रुपैयाँ क्षतिपूर्तिको फैसला सुनाएको थियो।
जिल्लाको फैसलाउपर भएको पुनरावेदनमा उच्च अदालतले सजाय थप गर्दै भण्डारीलाई एक महिना सात दिन कैद, १२ हजार एक सय रुपैयाँ जरिवाना र एक लाख रुपैयाँ क्षतिपूर्ति भराउने अन्तिम फैसला गरेको थियो। सोही फैसला कार्यान्वयनका लागि प्रहरीले उनलाई हिरासतमा लिएको हो।



तपाईको प्रतिक्रिया दिनुहोस