वैदेशिक रोजगारीको प्रलोभन देखाएर लाखौँ ठगी गर्ने दुई जना पक्राउ
वैदेशिक रोजगारीका लागि आकर्षक तलबको लोभ देखाउँदै विभिन्न देश पठाइदिने बहानामा सर्वसाधारणबाट लाखौँ रुपैयाँ ठगी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको विशेष प्रहरी टोलीले मङ्गलवार उनीहरूलाई उपत्यकाका विभिन्न स्थानबाट नियन्त्रणमा लिएको हो। पक्राउ पर्नेहरूमा दोलखा शैलुङ गाउँपालिका-४ घर भई हाल भक्तपुर सूर्यविनायक बस्ने ३९ वर्षीय दावा योञ्जन र बारा आदर्श कोटवाल गाउँपालिका-४ घर भई हाल काठमाडौँ कागेश्वरी मनोहरा बस्ने २७ वर्षीय अनिल कुमार यादव रहेका छन्।
पक्राउ परेकामध्ये दावा योञ्जनले पीडितहरूलाई युरोपेली मुलुक सर्बिया तथा युएई पठाइदिने विश्वास दिलाएर ठगी धन्दा चलाएको प्रहरी अनुसन्धानबाट खुलेको छ। उनले आकर्षक वैदेशिक रोजगारीको प्रलोभनमा पारी ७ जना पीडितहरूबाट कुल ११ लाख ४५ हजार रुपैयाँ रकम असुल गरेर फरार भएका थिए। पीडितहरूले दिएको उजुरीका आधारमा खोजी कार्य तीव्र पारेको प्रहरीले योञ्जनलाई भक्तपुरको सूर्यविनायक नगरपालिका-९ बाट नियन्त्रणमा लिएको हो।
यसैगरी, अर्का अभियुक्त अनिल कुमार यादवले वैदेशिक रोजगारीका लागि मलेसिया पठाइदिने भन्दै २ जना पीडितहरूबाट २ लाख ८७ हजार रुपैयाँ ठगी गरेका थिए। रकम हात पारेपछि पीडितहरूको सम्पर्कभन्दा बाहिर रहेका यादवलाई प्रहरीले काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका-८ बाट पक्राउ गर्न सफल भएको हो। पक्राउ परेका दुवै अभियुक्तलाई थप अनुसन्धान र हदैसम्मको कानुनी कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल पठाइएको प्रहरीले जनाएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस