वैदेशिक रोजगारीको प्रलोभनमा लाखौँ ठग्ने गिरोहका चार जना पक्राउ
वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभन देखाएर विभिन्न देश पठाइदिने बाहनामा लाखौँ रुपैयाँ ठगी गर्ने चार जनालाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेहरूमा रौतहट घर भई हाल काठमाडौं महानगरपालिका-२८ बस्ने ४६ वर्षीय एम.डी. खुर्सिद आलम नेपाली, नवलपरासी पश्चिम घर भई ललितपुरको गोदावरी नगरपालिका-२ बस्ने ३३ वर्षीय भुप नारायण चौधरी, सिराहा घर भई ललितपुरको महालक्ष्मी नगरपालिका-८ बस्ने ३४ वर्षीय बसन्त कुमार सिंह र संखुवासभा घर भई काठमाडौंको बूढानीलकण्ठ नगरपालिका-९ बस्ने ४२ वर्षीय रस्तमान राई रहेका छन्।
पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुबाट खटिएको प्रहरी टोलीले एम.डी. खुर्सिद आलमलाई काठमाडौं-२८ बाट र भुप नारायणलाई काठमाडौं-२ बाट बिहीबार पक्राउ गरेको थियो। त्यस्तै, बसन्त कुमारलाई ललितपुरको महालक्ष्मी-५ बाट र रस्तमानलाई ललितपुर महानगरपालिका-८ बाट शुक्रबार नियन्त्रणमा लिइएको हो।
पक्राउ परेका सबैलाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल, काठमाडौं पठाइएको प्रहरीले जनाएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस