१ अर्ब बढीको अवैध हुण्डी कारोबार गर्ने शाही धरानबाट पक्राउ
अवैध रूपमा हुण्डी कारोबारमा संलग्न रहेको अभियोगमा सुनसरीको धरानबाट एक महिला पक्राउ परेकी छिन्। धरान उपमहानगरपालिका–१३ घर भएकी ज्योति शाहीलाई प्रहरीले बिहीबार दिउँसो पक्राउ गरेको हो।
केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी), कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर र जिल्ला प्रहरी कार्यालय सुनसरीबाट संयुक्त रूपमा खटिएको टोलीले उनलाई धरान उपमहानगरपालिका–५, खैरनीबाट नियन्त्रणमा लिएको हो।
१ अर्ब ३ करोडभन्दा बढीको अवैध कारोबार
प्रारम्भिक अनुसन्धानबाट शाहीले अन्य व्यक्तिहरूको समेत मिलेमतोमा 'शाही मनि ट्रान्सफर' लगायत विभिन्न व्यावसायिक बैंकहरूमा रहेका खाता प्रयोग गरेर ठुलो रकमको कारोबार गरेको खुलेको छ। उनले हालसम्म १ अर्ब ३ करोड ८४ लाख ७५ हजार ८ सय ४५ रुपैयाँ बराबरको अवैध हुण्डी कारोबार गरेको प्रहरीले जनाएको छ।
पक्राउ परेकी शाहीविरुद्ध हुण्डीसम्बन्धी कसुरअन्तर्गत आवश्यक अनुसन्धान तथा कानुनी कारबाही अगाडि बढाइएको प्रहरीले जनाएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस