नागरिकता अभिलेख किर्ते प्रकरणमा तीन कर्मचारीसहित चार जना कारागार चलान
नागरिकताको सरकारी अभिलेख किर्ते तथा अनधिकृत हेरफेर गरेको आरोपमा जिल्ला प्रशासन कार्यालय स्याङ्जाका तीन कर्मचारीसहित चार जनालाई पुर्पक्षका लागि थुनामा पठाइएको छ। स्याङ्जा जिल्ला अदालतले उनीहरूलाई कारागार चलान गर्ने आदेश दिएको हो।
जिल्ला न्यायाधीश उपेन्द्रप्रसाद गौतमको इजलासले जिल्ला प्रशासन कार्यालयका तत्कालीन प्रशासकीय अधिकृत सूर्यप्रसाद शर्मा, कम्प्युटर अपरेटर विष्णुप्रसाद चापागाईँ, लेखापाल रमेश विक र किर्तेका मतियार आरोपी प्रयासी गुरुङलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो।
प्रहरीले चारै जनालाई गत कात्तिक १६ गते पक्राउ गरेको थियो। स्याङ्जा जिल्ला सरकारी वकिल कार्यालयले मंगलबार उनीहरूविरुद्ध सरकारी लिखतसम्बन्धी कसुरअन्तर्गत मुद्दा दायर गरेको थियो। तत्काल प्राप्त प्रमाणका आधारमा प्रतिवादीहरू कसुरदार होइनन् भन्न सकिने अवस्था नदेखिएकाले मुलुकी फौजदारी कार्यविधि संहिताको दफा ६७ को उपदफा १(ख) बमोजिम कारागार पठाइएको अदालतका स्रेस्तेदार भेषराज पौडेलले जानकारी दिए।
कसरी खुल्यो दोहोरो नागरिकता र किर्ते प्रकरण?
प्रयासी गुरुङले आफ्ना दुई बालबालिकाको नाबालक परिचयपत्र बनाउने क्रममा जिल्ला प्रशासन कार्यालय कास्कीमा पेस गरेका कागजात रुजु गर्दा उनीसँग दुईवटा नागरिकता रहेको खुलेको थियो। गुरुङले २०५६ चैत ३ गते स्याङ्जाको ठेगाना राखी ५७०६६ नम्बरको पहिलो नागरिकता लिएका थिए भने २०५७ भदौ २५ गते पोखरा लेखनाथ महानगरपालिका–७, कास्कीको ठेगाना राखेर १०८५८८ नम्बरको दोस्रो नागरिकता लिएको पाइएको थियो।
दोहोरो नागरिकता भेटिएपछि कास्की प्रशासनले पहिलो नागरिकता रद्द गरिएको भए सो को कानुनी आधार, प्रक्रिया र निर्णयसम्बन्धी कागजात स्याङ्जा प्रशासनसँग माग गरेको थियो। सोही विषयमा छानबिन गर्दा तीन कर्मचारीको मिलोमतोमा गत भदौ १५ गते नागरिकताको सरकारी अभिलेख किर्ते गरिएको रहस्य खुलेको हो।
स्याङ्जाका प्रमुख जिल्ला अधिकारी निराजन घिमिरेका अनुसार छानबिनका क्रममा लेखापाल विकले नक्कली कागजात तयार पारेको, कम्प्युटर अपरेटर चापागाईँले तत्कालीन प्रमुख जिल्ला अधिकारीको किर्ते हस्ताक्षर गरेको र प्रशासकीय अधिकृत शर्माले प्रमाणित गरेको देखिएको छ। कानुनी निर्णयअनुसार नभई कागजी रूपमा देखाउनका लागि मात्र पुरानो नागरिकता रद्द गरिएको अभिलेख खडा गरिएको थियो।
यस घटनामा जिल्ला प्रशासन कार्यालय स्याङ्जाले भदौ २६ गते नै अनुसन्धान र कारबाहीका लागि प्रहरीलाई पत्राचार गरेको थियो। त्यस्तै, गृह मन्त्रालयले समेत आवश्यक कारबाहीका लागि असोज २८ गते पत्र पठाएपछि प्रशासनले कात्तिक ९ गते पुनः प्रहरीलाई ताकेता गरेको थियो।



तपाईको प्रतिक्रिया दिनुहोस