कांग्रेस फुटेर होइन, जुटेर जानुपर्छ : सहमहामन्त्री शाही
नेपाली कांग्रेसका सहमहामन्त्री जीवनबहादुर शाहीले पार्टी फुटेर होइन, जुटेर अघि बढ्न आह्वान गरेका छन्। १५औँ महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वको कार्यसमितिलाई निर्वाचन आयोगले अद्यावधिक गरेपछि सहमहामन्त्री शाहीले आन्तरिक एकताका लागि आग्रह गरेका हुन्।
निवर्तमान सभापति शेरबहादुर देउवा समूहले समानान्तर गतिविधि गरिरहेको सन्दर्भमा शाहीले कांग्रेस सबैलाई समेटेर लैजान तयार रहेको स्पष्ट पारे। समानान्तर गतिविधि गरिरहेका देउवा समूहका नेताहरूलाई लक्षित गर्दै उनले सामाजिक सञ्जालमार्फत लेखेका छन्, “सबैलाई मिलाएर लैजान कांग्रेस तयार छ। सबै जुटौँ, कोही नफुटौँ।” १४औँ महाधिवेशनमा देउवा समूहबाटै सहमहामन्त्रीमा निर्वाचित शाही कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री समेत हुन्।
यसैबीच, सहमहामन्त्री शाहीले होल्डिङ सेन्टरबाट सुकुम्बासी नागरिकलाई हटाउन दिइएको सरकारी उठीबासको सूचना र निर्देशनप्रति गम्भीर आपत्ति जनाएका छन्। उक्त कदमले गरिब तथा भूमिहीन नागरिकको आवासको अधिकार र राज्यको दायित्वमाथि गम्भीर प्रश्न खडा गरेको उनको भनाइ छ।



तपाईको प्रतिक्रिया दिनुहोस