Techie IT
२०८३ असार २९, सोमबार

जीप दुर्घटनापछि बझाङका सबै पालिका एकजुट, उपचारका लागि कम्तीमा २.५ लाख सहयोग गर्ने


बझाङको केदारस्युँ गाउँपालिका–७ सुगुरेमा असार २७ गते भएको जीप दुर्घटनाका गम्भीर घाइतेहरूको उपचारका लागि जिल्लाका सबै स्थानीय तहले आर्थिक सहयोग गर्ने भएका छन्।

जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले घाइतेहरूको उपचार, हेलिकप्टर चार्टर तथा अन्य अत्यावश्यक खर्च व्यवस्थापनका लागि जिल्लाका प्रत्येक स्थानीय तहले कम्तीमा २ लाख ५० हजार रुपैयाँका दरले आर्थिक सहयोग उपलब्ध गराउने निर्णय गरेको हो।

दुर्घटनामा गम्भीर घाइते भएका सात जनामध्ये दुई जनालाई थप उपचारका लागि काठमाडौं र पाँच जनालाई नेपालगञ्ज पठाइएको छ। उपचार, औषधि तथा हवाई उद्धारमा ठूलो खर्च लाग्ने भएकाले उक्त निर्णय गरिएको समितिले जनाएको छ।

स्थानीय तहबाट संकलन हुने आर्थिक सहयोगको समन्वय गर्ने जिम्मेवारी दुर्गाथली गाउँपालिकालाई दिइएको छ।

समितिले जिल्लास्थित राजनीतिक दल, उद्योग वाणिज्य संघ, गैरसरकारी संस्था, नेपाल पत्रकार महासंघ तथा राष्ट्रसेवक कर्मचारीहरूलाई पनि घाइतेहरूको उपचारका लागि स्वैच्छिक आर्थिक सहयोग गर्न अपिल गरेको छ।

यस्तै, घाइतेहरूको उपचारमा थप राहत उपलब्ध गराउन गृह मन्त्रालय तथा सुदूरपश्चिम प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयसँग आवश्यक सहयोग उपलब्ध गराइदिन अनुरोध गर्ने निर्णय पनि गरिएको छ।

बैठकले दुर्घटनामा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकाकुल परिवारजनप्रति समवेदना प्रकट गरेको छ। साथै, घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै दुर्घटनापछि खोज, उद्धार, सञ्चार तथा समन्वयमा खटिएका स्थानीय बासिन्दा, जनप्रतिनिधि, राजनीतिक दल, सुरक्षाकर्मी, सञ्चारकर्मी र नागरिक समाजप्रति धन्यवाद ज्ञापन गरेको छ।

यसैबीच, मनसुनका कारण अविरल वर्षा, बाढी, पहिरो र नदी कटानबाट जिल्लाका सडकहरू थप जोखिमपूर्ण बन्दै गएको भन्दै समितिले विशेष सतर्कता अपनाउन आग्रह गरेको छ। सडकमा माटो थुप्रिने, खाल्डाखुल्डी बन्ने र नदी कटानका कारण दुर्घटनाको जोखिम बढेकाले सबै स्थानीय तहलाई आफ्नो क्षेत्रभित्रका सडकको मोड सुधार तथा तत्काल मर्मतसम्भार गर्न निर्देशन दिने निर्णय पनि गरिएको छ।

बैठकको माइनुट -

 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट