Techie IT
२०८३ भाद्र ९, मंगलबार

रत्ननगरमा पशु चौपायमा रेविजको सङ्क्रमण पुष्टि, उच्च सतर्कता अपनाउन आग्रह


रत्ननगर (चितवन): पूर्वी चितवनको रत्ननगर नगरपालिकाका विभिन्न वडामा पालिएका पशु चौपायमा घातक रेविज रोगको सङ्क्रमण पुष्टि भएको छ। नगर क्षेत्रका पशुहरूमा अनौठा लक्षणहरू देखिएपछि गरिएको परीक्षणबाट वडा नं. ९, १० र १६ मा रेविजको सङ्क्रमण फैलिएको खुलेको हो।

पशु सेवा कार्यालयका प्रमुख डा. प्रभात न्यौपानेका अनुसार यहाँका जर्सी गाईहरूमा यो रोगको सङ्क्रमण पुष्टि भएको छ। लाइसा (Lyssavirus) नामक भाइरसका कारण लाग्ने यस रोगका लक्षण देखिएका गाई-भैँसीले अत्यधिक र्याल काढ्ने, टाउको भित्तामा ठोक्ने, मानिस वा अन्य जनावरलाई टोक्न खोज्ने, पानी तथा घाँस खान नमान्ने, दूध उत्पादन घटाउने र अन्त्यमा मर्ने गर्दछन्। सामान्यतया कुकुर र बिरालामा रेविजविरुद्धको खोप लगाइए पनि अन्य पशु चौपायमा यो खोप खासै नलगाइने भएकाले जोखिम बढेको छ।

रत्ननगर नगरपालिकाकी पशु चिकित्सक अनुस्का राज भण्डारीका अनुसार यस आर्थिक वर्षमा पालिकाका विभिन्न वडाबाट सङ्कलित शङ्कास्पद पशुहरूको नमूना परीक्षणका लागि काठमाडौंस्थित केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशाला पठाइएको थियो। हालसम्म दुई वटा नमूनामा रेविज सङ्क्रमण पुष्टि भइसकेको छ भने अन्य दुई वटाको परीक्षणको तयारी भइरहेको छ। प्रायः पशु मरेपछि मात्रै नमूना परीक्षणका लागि पठाउने गरिएको उनले जानकारी दिइन्। सङ्क्रमणका लक्षण देखिएको ९ देखि १० दिनको बीचमा पशु मरेको पाइएको छ।

रत्ननगरका वडा नं. ९, १० र १६ मा देखिएको यो सङ्क्रमण जङ्गल आसपास क्षेत्रमा रहेका न्याउरी मुसा र स्यालको टोकाइबाट सरेको हुन सक्ने अनुमान गरिएको छ। रोगको सङ्क्रमण पुष्टि भएलगत्तै प्रभावित क्षेत्रका पशुहरूमा रेविजविरुद्धको खोप लगाउन सुरु गरिएको छ भने जोखिमयुक्त क्षेत्रका बासिन्दा तथा पशुपालक किसानहरूलाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट