विचार र दृष्टिकोणले कोही भन्दा कम छैनौँ : प्रचण्ड
नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन, विचार र दृष्टिकोणका हिसाबले आफ्नो पार्टी कोहीभन्दा कम नरहेको बताएका छन् ।
पार्टीको तनहुँ जिल्ला अधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले आफूहरू अहिले कोहीभन्दा कम नरहेको र भविष्यमा पनि नहुने दाबी गरे ।
प्रचण्डले शान्ति सम्झौता र संविधानको मर्म तथा भावनाअनुसार अघि बढ्न सबैलाई प्रतिबद्धता र प्रतिज्ञा गर्न आग्रह गरेका छन् । उनले भने, “मनले, विचारले, दृष्टिकोणले हामी कोहीभन्दा कम छैनौँ र हुनेवाला पनि छैनौँ । शान्ति सम्झौताको मर्म र भावना तथा संविधानको मर्म र भावनाअनुसार अगाडि बढ्ने हामी सबैले प्रतिबद्धता र प्रतिज्ञा गरौँ ।”
त्यसरी अघि बढ्दा शान्ति सम्झौता, संविधानसभा र संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनामा भूमिका खेल्ने अग्रज नेताहरूप्रति सम्मान प्रकट हुने उनको भनाइ थियो ।
उक्त ऐतिहासिक प्रक्रियाका नेतृत्वकर्ता गिरिजाप्रसाद कोइराला अहिले दिवङ्गत भइसकेको स्मरण गर्दै प्रचण्डले आफू र माधवकुमार नेपाल जीवितै रहेको उल्लेख गरेका थिए । ती नेताहरूप्रति पनि सम्मान व्यक्त गर्नुपर्नेमा उनले जोड दिए ।
प्रचण्डले शान्ति सम्झौताका बाँकी काम टुंग्याउने, सुशासन कायम गर्ने, न्याय स्थापित गर्ने र समृद्धिको समाजवादी यात्रा आरम्भ गर्ने संकल्प गरिएको समेत बताए ।



तपाईको प्रतिक्रिया दिनुहोस