आफ्नै पालामा बनाइएको वडा कार्यालय बगाएपछि वडाध्यक्षको मन कुँडियो
दरमखोलाको बाढीले आफ्नै कार्यकालमा निर्माण गरिएको वडा कार्यालय भवन बगाएपछि बागलुङको गलकोट नगरपालिका–९ का वडाध्यक्ष तेजबहादुर थापा गहिरो चिन्ता र शोकमा डुबेका छन्।
बुधबार साँझ क्षतिग्रस्त भवनको छेउमा भेटिएका वडाध्यक्ष थापाले आफ्नो खेत बग्दा दुःख नलागे पनि आफ्नो इतिहास र वडाको गहना मानिएको भवन बाढीले मेटाइदिएकोमा सारै दुःखी भएको बताएका छन्।
गएको आइतबार आएको बाढीले वडाध्यक्ष थापाको बाह्रमुरी धान फल्ने खेतसमेत बगर बनाएको छ। नदीको कटानले जोखिम बढाएपछि स्थानीयहरूको सहयोगमा कम्प्युटर, ल्यापटपलगायत केही महत्वपूर्ण अभिलेख र उपकरणहरू भने सुरक्षित रूपमा झिक्न सफल भएको उनले जानकारी दिए।
विसं २०७४ मा पहिलोपटक वडाध्यक्षमा निर्वाचित भएपछि थापा र स्थानीयवासीको विशेष पहल तथा नगरपालिकाको ८० लाख रुपैयाँ बजेटमा उक्त सुविधायुक्त भवन निर्माण गरिएको थियो। स्थानीयको सहयोगमा तीन रोपनी जग्गा खरिद गरी बनाइएको चिटिक्कको भवन र जग्गा अहिले बाढीले पूर्ण रूपमा बगाएको छ भने करिब १५ लाख रुपैयाँमा जडान गरिएको सौर्य ऊर्जा (सोलार) मा पनि क्षति पुगेको छ। दरमखोलाको तीव्र बहावका कारण गत आइतबार बेलुका ४ बजेतिर उक्त भवन जगैदेखि खोला किनारमा ढलेको थियो।
बाढीका कारण वडा नं. ९ का बाह्रमुखी र टिमुरबोटलगायत फाँटमा पाक्नै लागेको धानबालीसहित ठूलो मात्रामा धानखेत र घरगोठहरू बग्दा स्थानीय किसानहरू मारमा परेका छन्। स्थानीय हुमलाल ढकालको घर पनि बाढीको उच्च जोखिममा परेको छ भने उनले बाढी प्रभावितहरूका लागि तत्काल राहत तथा पुनःनिर्माणको माग गरेका छन्।
गलकोट नगरपालिकाका अनुसार बाढीपहिरोका कारण नगर क्षेत्रभित्र २२ वटा घरगोठ र रिसोर्टलगायत विभिन्न व्यावसायिक संरचनामा क्षति पुगेको छ। नगर प्रमुख भरत शर्मा गैरेले मानवीय क्षति नभए पनि सरकारी तथा निजी क्षेत्रको गरी करोडौँ रुपैयाँ बराबरको भौतिक सम्पत्ति नाश भएको जानकारी दिएका छन्। बाढीपहिरोका कारण गलकोटसहित बागलुङ जिल्लाका अधिकांश स्थानीय तहहरू नराम्ररी प्रभावित भएका छन् भने जिल्लाभर पहिरोमा परि १३ जनाले ज्यान गुमाइसकेका छन्। नगरपालिकाले क्षतिको यकिन विवरण सङ्कलन गरिरहेको र चाँडै नै योजना बनाएर राहत तथा पुनःनिर्माणको काम अगाडि बढाइने नगर प्रमुख गैरेले बताएका छन्।




तपाईको प्रतिक्रिया दिनुहोस