Techie IT
२०८३ मंसिर १२, शुक्रबार

कर्जाको माग नबढ्दा बैंकमा थुप्रियो पैसा, ४० अर्ब रुपैयाँ तान्दै राष्ट्र बैंक


नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट थप ४० अर्ब रुपैयाँ तरलता खिच्ने भएको छ । केन्द्रीय बैंकले दुई महिना (६३ दिन) अवधिका लागि निक्षेप संकलन उपकरणमार्फत उक्त रकम उठाउन आज (शुक्रबार) बोलकबोल गर्न लागेको हो ।

राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले मंसिर ११ गते जारी गरेको सूचनाअनुसार दिउँसो २ बजेसम्म अनलाइन बिडिङ प्रणालीमार्फत बोलकबोल गर्न सकिनेछ । निक्षेप संकलनको ब्याजदर बोलकबोलकै माध्यमबाट निर्धारण हुनेछ ।

इच्छुक बैंक तथा वित्तीय संस्थाले न्यूनतम १० करोड रुपैयाँदेखि अधिकतम ४० अर्ब रुपैयाँसम्म (१० करोडले निःशेष भाग जाने गरी) बोल गर्न सक्नेछन् । सहभागी संस्थाहरूले एउटै वा फरक–फरक ब्याजदरमा एकभन्दा बढी बोल पेस गर्न पाउने व्यवस्था छ । राष्ट्र बैंकले इजाजतपत्र प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउने यस उपकरणको साँवा तथा ब्याज आगामी माघ १३ गते भुक्तानी गर्नेछ ।

राष्ट्र बैंकको पछिल्लो तथ्यांकअनुसार बैंक तथा वित्तीय संस्थामा कुल निक्षेप ८५ खर्ब ३० अर्ब रुपैयाँ पुग्दा कर्जा प्रवाह भने ६१ खर्ब १८ अर्ब रुपैयाँमा सीमित छ । निक्षेप संकलन र कर्जा विस्तारबिचको यही फराकिलो अन्तरका कारण प्रणालीमा लगानीयोग्य रकम (अधिक तरलता) थुप्रिएको हो ।

कुल निक्षेपमध्ये वाणिज्य बैंकहरूमा ७७ खर्ब १२ अर्ब र अन्य वित्तीय संस्थामा ८ खर्ब १८ अर्ब रुपैयाँ रहेको छ । यस्तै, वाणिज्य बैंकहरूले ५४ खर्ब ३८ अर्ब र अन्य संस्थाले ६ खर्ब ८० अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन् ।

हाल बैंकिङ प्रणालीको कर्जा–निक्षेप अनुपात (सीडी रेसियो) ७१.१६ प्रतिशतमा झरेको छ । नियामकीय व्यवस्थाअनुसार बैंकहरूले ९० प्रतिशतसम्म कर्जा प्रवाह गर्न पाउने भए पनि कर्जाको माग कमजोर हुँदा उपलब्ध स्रोत परिचालन हुन सकेको छैन । यसले बैंकहरूसँग थप कर्जा विस्तार गर्ने पर्याप्त क्षमता रहेको देखाउँछ ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट