Techie IT
२०८३ मंसिर १३, शनिबार

प्रधानमन्त्रीले बालुवाटार छाड्नुपर्ने अवस्था पनि आउन सक्छ - प्रचण्ड


नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विगतमा सरकार गठन र विघटनको राजनीतिक चलखेलमा बढी केन्द्रित हुँदा राष्ट्रिय स्वाधीनता र राजनीतिक उपलब्धिमाथिका चुनौतीलाई पर्याप्त ध्यान दिन नसकिएको स्वीकार गरेका छन् ।

शनिबार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै संयोजक दाहालले आफूहरू सत्ताको खेलमा अल्झिँदा प्रतिक्रियावादी शक्तिहरूले लामो योजना अन्तर्गत राष्ट्रिय स्वाधीनता र जनताको आत्मनिर्णयको अधिकारविरुद्ध षड्यन्त्र गरिरहेको विषयमा कमजोरी भएको बताएका हुन् ।

प्रतिक्रियावादी पङ्क्तिले षड्यन्त्र गरिरहँदा राज्य संयन्त्र बेखबरजस्तै बनेको र सरकारमा रहेकाहरूले समेत विकसित राजनीतिक घटनाक्रमको पूर्वानुमान गर्न नसकेको उनको आरोप छ । दुई तिहाइ बहुमतको दाबी गरिरहेको सरकारका प्रधानमन्त्रीले बालुवाटार छाड्नुपर्ने अवस्था आउनु राज्य संयन्त्रकै कमजोरी भएको दाहालले टिप्पणी गरे ।

सम्बोधनका क्रममा दाहालले वर्तमान सरकारले मजदुर, किसान, सुकुमबासी, कर्मचारी, विद्यार्थी र शिक्षकलाई आतङ्कित पार्ने तथा दमन गर्ने काम गरिरहेको आरोप लगाए । जनताले लामो सङ्घर्ष र बलिदानबाट प्राप्त गरेका सार्वभौम अधिकार तथा समावेशी प्रतिनिधित्वमाथि निरन्तर हस्तक्षेप भइरहेको उनको दाबी छ ।

यस्तै, गत प्रतिनिधिसभा सदस्य निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ल्याएको मत परिणामलाई दाहालले ‘क्षणिक आँधी’को संज्ञा दिए । उक्त लहर सदाबहार नरहने जिकिर गर्दै उनले नेकपाले अब तत्कालको फाइदा नहेरी दीर्घकालीन रूपमा राष्ट्रिय संयुक्त मोर्चा बनाएर अघि बढ्नुपर्ने बताए । 

दाहालले देशका साना–ठुला सबै कम्युनिस्ट समूहलाई एकताको झन्डामुनि ल्याउने अभियानलाई तीव्र पारिने बताएका छन् । विगतमा वाम एकता टिकाउन नसकिए पनि एक पटकको असफलताले प्रयास छाड्न नहुने उनको भनाइ छ ।

यसै क्रममा नेकपा एमालेसँग तीन बुँदे र नेकपा मसालसँग दुई बुँदे सहकार्यको प्रस्ताव अघि सारिएको तथा अन्य कम्युनिस्ट घटकहरूसँग पनि निरन्तर छलफल भइरहेको उनले खुलाए । साथै, शान्ति सम्झौता, संविधान, सङ्घीय लोकतान्त्रिक गणतन्त्र र समावेशिताका पक्षधर शक्तिहरूबिच पनि संयुक्त मोर्चा निर्माणका लागि सकारात्मक संवाद अघि बढाइएको दाहालले बताएका छन् ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट