Techie IT
२०८३ मंसिर १३, शनिबार

जनकपुरधाम–अयोध्या रेल सेवामा कति छ टिकट ?


धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाउँदै जनकपुरधाम र अयोध्याबीच तीर्थयात्रा सहज बनाउने उद्देश्यले सुरु गरिएको ‘सरयु–कमला एक्सप्रेस’ रेल सेवा आजदेखि व्यावसायिक रूपमा सञ्चालनमा आएको छ ।

उद्घाटन भएको एक सातापछि रेल सेवा नियमित तथा व्यावसायिक रूपमा सञ्चालनमा आएको नेपाल रेल्वे कम्पनी लिमिटेडका प्रबन्ध सञ्चालक परिवेश पराजुलीले जानकारी दिए । उनका अनुसार अयोध्याबाट आज बिहान जनकपुरधाम आइपुगेको रेलमा फर्कनका लागि ४०० जना यात्रुले टिकट लिएका थिए । ती यात्रुलाई लिएर रेल आजै जनकपुरधामबाट अयोध्याका लागि प्रस्थान गरेको छ ।

रेल सेवा व्यावसायिक रूपमा सुरु भएसँगै यात्रुलाई टिकट काट्न सहज हुने विश्वास गरिएको छ । अनलाइनमार्फत टिकट लिन चाहने यात्रुले भारतीय रेल्वेको टिकट प्रणालीबाट बुकिङ गर्न सक्नेछन् भने नेपालबाटै टिकट लिन चाहनेका लागि जनकपुरधाम रेल्वे स्टेसनमा काउन्टरको व्यवस्था मिलाइएको पराजुलीले बताए ।

नेपाल रेल्वे कम्पनी लिमिटेडका अनुसार रेल प्रत्येक सोमबार बिहान ५ः३० बजे अयोध्याबाट जनकपुरधामका लागि प्रस्थान गर्नेछ भने प्रत्येक शनिबार दिउँसो १ः१० बजे जनकपुरधामबाट अयोध्याका लागि छुट्नेछ । रेलमा यात्रा गर्न नेपाली नागरिकले नागरिकता, राहदानी वा मतदाता परिचयपत्रमध्ये कुनै एक आधिकारिक परिचयपत्र अनिवार्य रूपमा प्रस्तुत गर्नुपर्ने व्यवस्था गरिएको छ ।

भाडादर र डिब्बाको व्यवस्था
कुल १७ वटा डिब्बा रहने यस रेलमा यात्रुको आवश्यकता र आर्थिक क्षमताअनुसार विभिन्न श्रेणीको व्यवस्था गरिएको छ । जसमा स्लीपर श्रेणीका ७, वातानुकूलित तेस्रो श्रेणीका ३, तेस्रो इकोनोमी श्रेणीका ३, वातानुकूलित दोस्रो श्रेणीका २ र एसएलआरका २ डिब्बा समावेश छन् ।

जनकपुरधामदेखि अयोध्यासम्मको यात्राका लागि निम्नानुसार भाडादर निर्धारण गरिएको छः
स्लीपर श्रेणी: रु. ५८४
वातानुकूलित तेस्रो श्रेणी (इकोनोमी): रु. १,४१६
वातानुकूलित तेस्रो श्रेणी: रु. १,५४४
वातानुकूलित दोस्रो श्रेणी: रु. २,१७६

करिब ६०४ किलोमिटर दूरी तय गर्ने यो रेलले भारतको विहार र उत्तर प्रदेशका प्रमुख सहरहरू हुँदै जनकपुरधामलाई अयोध्यासँग जोड्नेछ । रेलमार्गमा जयनगर, मधुवनी, सीतामढी, रक्सौल, नरकटियागञ्ज, गोरखपुर, बस्ती, मनकापुर र अयोध्याधामलगायतका स्थानमा व्यावसायिक बिसौनी (स्टप) तोकिएको छ ।

माता सीताको जन्मभूमि जनकपुरधाम र भगवान् श्रीरामको जन्मभूमि अयोध्यालाई जोड्ने यो सेवाले दुवै देशका तीर्थयात्रीका साथै रेलमार्गमा पर्ने सहरका बासिन्दालाई समेत प्रत्यक्ष लाभ पुग्ने कानुन व्यवसायी राजकुमार महासेठले बताए । यस रेल सेवाले नेपाल र भारतबीच सदियौँदेखि कायम धार्मिक, सांस्कृतिक तथा सामाजिक सम्बन्धलाई थप सुदृढ बनाउने विश्वास गरिएको छ ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट