Techie IT
२०८३ मंसिर १२, शुक्रबार

कारागार बसाइ मेरा लागि अध्ययन गर्ने अवसर बन्यो - एमाले नेता रायमाझी


नेकपा एमालेका नेता एवं पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी कारागारबाट रिहा भएपछि आज गृहजिल्ला अर्घाखाँची पुगेका छन् ।

गृहजिल्ला पुग्दा उनलाई पार्टीका नेता तथा कार्यकर्ताले स्वागत गरेका थिए । सो क्रममा बोल्दै रायमाझीले जिल्लावासीले आफूलाई न्याय गर्ने विश्वास व्यक्त गरे । उनले जिल्लामा रोकिएका विकास निर्माणका कामलाई अब सक्रियताका साथ अगाडि बढाउने प्रतिबद्धतासमेत जनाए ।

कारागार बसाइको अनुभव सुनाउँदै रायमाझीले आफूलाई सिध्याउन खोजिए पनि झन् बलियो बनेर निस्किएको दाबी गरेका छन् । “मलाई त अध्ययन गर्न पठाएजस्तो भइदियो,” उनले भने, “वास्तवमा मलाई भट्टीमा हालिएकै हो, खरानी बनाउन खोजेकै हो । तर, भट्टीबाट खारिएर स्टिल भएर आएजस्तो महसुस भएको छ । यसले मलाई थप आत्मविश्वास र शक्ति प्रदान गरेको छ ।”

कारागार बसाइको समयलाई आफूले खेर नफालेको उल्लेख गर्दै उनले देश कसरी बनाउने र विकास कसरी गर्ने भन्ने आँट र ऊर्जा झन् बढेर आएको बताए ।

फरक प्रसङ्गमा नेता रायमाझीले पुराना राजनीतिक दलहरूले अब नयाँ ढङ्गले सोच्नुपर्ने आवश्यकता औँल्याए । “हामी पुराना पार्टीहरू विचार, विधि, योजना, कार्यक्रम र चिन्तनले नयाँ नभईकन अब अगाडि बढ्न सक्दैनौँ,” उनले भने, “पुरानो तरिकाले चल्ने स्थिति छैन । किनभने हाम्रा छोराछोरीले नै हामीले भनेको मान्दैनन्, अलिकति पढ्यो कि विदेशतिर लागिहाल्छन् ।"



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट