Techie IT
२०८२ जेष्ठ २४, शनिबार

दार्चुलाको अपी हिमालमा ध्यान, योग र काव्ययात्रा कार्यक्रम हुँदै


दार्चुलाको अपी हिमाल (७,१३२ मिटर) को आधारशिविर (४,००० मिटर) मा ‘ध्यान, योग तथा ऊर्जा महासभा’ र ‘अपी काव्ययात्रा २०८२’ सञ्चालन हुने भएको छ । अपिहिमाल गाउँपालिकाको आयोजनामा जेठ १६ गतेदेखि सुरु हुने यो कार्यक्रमले हिमाली सौन्दर्यसँगै सिर्जना र साधनाको संगम प्रस्तुत गर्ने विश्वास गरिएको छ ।

गाउँपालिका अध्यक्ष भक्तसिंह ठेकरे बोहोराका अनुसार ध्यान तथा योग शिविरमा प्रशिक्षक सिमोन न्यौपाने र पतञ्जली योग समिति दार्चुलाका प्रशिक्षकहरूले प्रशिक्षण दिनेछन् । कार्यक्रममा ध्यान, प्राणायाम, तथा आन्तरिक ऊर्जा अभिवृद्धिका विधिहरू सिकाइने जनाइएको छ ।

त्यसै दिन अपी काव्ययात्रामा सहभागी १२ जना चर्चित स्रष्टाहरूले कविता वाचन र यात्रा अनुभव वाचन  गर्ने छन् । वरिष्ठ लेखक अभय श्रेष्ठको नेतृत्वमा उनीहरू काठमाडौंबाट धनगढी हुँदै दार्चुला हिँडेका छन् ।

काव्ययात्रामा सहभागी लेखकहरूमा प्रभा बराल, कुमारी लामा, लक्ष्मी रुम्बा, शान्ति तामाङ, अनुपम रोशी, सागर उदास, घनश्याम खड्का, दीपेन्द्रसिंह थापा, घनश्याम पौडेल, राजकुमार गजुरेल र पृथ्वी पुन छन् । उनीहरू कविता, निबन्ध, उपन्यास, गीत, फोटोपत्रकारिता र ब्लगिङका क्षेत्रमा सक्रिय रहेका छन् ।

कार्यक्रमपछि लेखकहरूले आफ्ना अनुभव, यात्रा संस्मरण तथा सिर्जनाहरू लेखेर विभिन्न सञ्चार माध्यममार्फत प्रस्तुत गर्ने छन् । ती रचनाहरूलाई समेटेर अपिहिमाल गाउँपालिकाले विशेष पुस्तक प्रकाशन गर्ने योजना समेत अघि सारेको छ ।

उच्च हिमाली क्षेत्रमा यसप्रकारको साहित्यिक तथा योग साधना कार्यक्रम पहिलो पटक आयोजना हुन लागेको हो । आयोजकहरूका अनुसार कार्यक्रमले अपी हिमाल क्षेत्रको पर्यटन, संस्कृति र चिनारीलाई नयाँ उचाइमा पुर्‍याउने विश्वास लिएको छ ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट