मधेस प्रदेशका मुख्यमन्त्री यादवले विश्वासको मत नपाउने निश्चित
मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादव आज बुधबार प्रदेशसभाबाट विश्वासको मत लिँदै छन्। विश्वासको मत लिने कार्यसूची दिउँसो २ बजेका लागि तय भएको प्रदेशसभा सचिवालयले जनाएको छ।
सर्वोच्च अदालतले मुख्यमन्त्री यादवलाई २४ घण्टाभित्र विश्वासको मत लिन आदेश दिए पनि उनले परमादेशको पत्र मंगलबार दिउँसो ३ बजे मात्र प्राप्त भएको भन्दै सोही आधारमा विश्वासको मत प्रक्रियाका लागि सचिवालयमा पत्र पठाएका हुन्। सर्वोच्च अदालतले सोमबार नै यादवको नाममा परमादेश जारी गरेको थियो।
यादव प्रदेशसभाको सबैभन्दा ठूलो दल नेकपा (एमाले)का संसदीय दल नेता हुन्। अन्य दलहरूले बहुमतको दाबी गर्दै सरकार गठनको आग्रह गरे पनि तत्कालीन प्रदेश प्रमुख सुमित्रा भण्डारीले उनलाई नै मुख्यमन्त्रीमा नियुक्त गरेकी थिइन्। सो निर्णयलाई लिएर उत्पन्न विवादका कारण प्रदेश प्रमुख भण्डारीलाई संघीय सरकारको सिफारिसमा राष्ट्रपतिले पदमुक्त गरिसकेकी छन्।
मुख्यमन्त्री यादवको नियुक्तिविरुद्ध प्रदेशसभा सदस्य ७४ जनाले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए। उक्त रिटमा सर्वोच्चले यसअघि पनि दीर्घकालीन असर पर्ने कुनै निर्णय नगर्न अन्तरिम आदेश जारी गरेको थियो।
मधेस प्रदेशसभामा १०७ सदस्य रहेका छन्। सरकार गठनका लागि कम्तीमा ५४ मत आवश्यक हुन्छ। एमालेका २५ सांसदमध्ये एक जना निलम्बित रहेका छन्। मुख्यमन्त्री यादवविरुद्ध ७४ सांसदले रिट दायर गरिसकेको भएकाले विश्वासको मत नपाउने जोखिम उनको अगाडि उभिएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस