शाहरुख खानलाई देश निकाला गर्नुपर्ने आवाज किन उठिरहेको छ?
बलिउडका ‘किङ’ शाहरुख खान पुनः ठूलो विवादको केन्द्रमा परेका छन्। इन्डियन प्रिमियर लिग (आईपीएल) को लिलामीमा बंगलादेशी क्रिकेटर मुस्तफिजुर रहमानलाई आफ्नो टोली कोलकाता नाइट राइडर्स (केकेआर) का लागि ९ करोडभन्दा बढी रकममा किनेपछि व्यापक विरोध सुरु भएको हो।
यो निर्णयपछि भारतीय जनता पार्टी (भाजपा) का नेता सङ्गीत सोमले शाहरुखमाथि तीव्र आक्रमण गर्दै उनलाई ‘देशद्रोही’सम्मको आरोप लगाएका छन्। उनको अभिव्यक्तिपछि सामाजिक सञ्जालदेखि सडकसम्म तीव्र प्रतिक्रिया देखिएको छ। यसैक्रममा जिल्ला अध्यक्ष मीरा राठौडले शाहरुखको जिब्रो काट्नेलाई १ लाख रुपैयाँ इनाम दिने विवादास्पद घोषणा गरेकी छन्।
बंगलादेशमा हिन्दुहरूमाथि उत्पीडन र हत्या भइरहेको आरोपको पृष्ठभूमिमा शाहरुखको निर्णयले जनभावनाको अपमान गरेको भन्दै विभिन्न धार्मिक व्यक्तित्वहरूले विरोध जनाएका छन्। इलाहाबादमा जारी माघ मेलामा सहभागी साधु–सन्तहरूले शाहरुखलाई ‘देशद्रोही’ भन्दै उनका फिल्म बहिष्कार गर्न आह्वान गरेका छन्। बंगलादेशमा हिन्दुहरूको हत्या भइरहँदा शाहरुखले कुनै प्रतिक्रिया नजनाएको तर बंगलादेशी खेलाडीलाई टोलीमा भित्र्याएको भन्दै उनीहरूको आक्रोश व्यक्त भएको छ।
विवाद यतिमै सीमित छैन। अखिल भारतीय दण्डी सन्न्यासी परिषद्का संरक्षक स्वामी महेशाश्रम महाराजले शाहरुखलाई देशबाट निकाल्नुपर्ने बताएका छन्। परिषद्का अध्यक्ष स्वामी ब्रह्माश्रम महाराजले उनका फिल्महरू बहिष्कार गर्न माग गरेका छन् भने दण्डी सन्न्यासी स्वामी शङ्कराश्रम महाराजले बीसीसीआई अध्यक्ष जय शाहलाई केकेआरलाई आईपीएलबाट हटाउन र टोलीमाथि प्रतिबन्ध लगाउन माग गरेका छन्। माग पूरा नभए कुनै पनि हिन्दुले केकेआरको खेलको टिकट नकिन्ने र टोलीको पूर्ण बहिष्कार गर्नुपर्ने उनको भनाइ छ।
यता, यो विवादबारे भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बीसीसीआई) ले भने सतर्क धारणा अपनाएको छ। बोर्डले ‘वेट एण्ड वाच’ नीति अवलम्बन गर्दै सरकारबाट कुनै औपचारिक निर्देशन नआउन्जेल कुनै खेलाडीमाथि प्रतिबन्ध नलगाइने स्पष्ट पारेको छ। बोर्डका एक वरिष्ठ अधिकारीले भने, ‘स्थिति संवेदनशील छ, तर बंगलादेश शत्रु राष्ट्र होइन र मुस्तफिजुरलाई आईपीएल खेल्न कुनै कानुनी रोक छैन।’
विवादको सुरुवात कथावाचक देवकीनन्दन ठाकुरको टिप्पणीबाट भएको बताइएको छ, जसलाई धीरेन्द्र शास्त्री र स्वामी रामभद्राचार्यले समर्थन गरेका छन्। देवकीनन्दनले उक्त खेलाडी टोलीमा रहे केकेआरको बहिष्कार गर्नुपर्ने बताएका थिए। सामाजिक सञ्जालमा पनि उनको पक्षमा उल्लेख्य समर्थन देखिएको छ।
भाजपा नेता सङ्गीत सोमले पुनः कडा प्रतिक्रिया दिँदै भनेका छन्, ‘बंगलादेशमा बलात्कार, हिन्दुहरूमाथि अत्याचार, व्यापारीहरूको हत्या र उनीहरूको व्यापार जलाइने घटनाहरू भइरहँदा त्यहाँका खेलाडीलाई समर्थन गर्नु बुझ्न नसकिने कुरा हो। शाहरुखजस्ता व्यक्तिहरूले भारतीय खेलाडी नकिनेर बंगलादेशी खेलाडी किन्नु गद्दारीको प्रमाण हो।’



तपाईको प्रतिक्रिया दिनुहोस