सलमानको ‘मातृभूमि’मा ठूलो फेरबदल: रक्षा मन्त्रालयको दबाबपछि पुनः छायाङ्कन
बलिउड सुपरस्टार सलमान खान अभिनीत बहुप्रतीक्षित फिल्म ‘मातृभूमि’ प्रदर्शनअघि नै विवाद र परिवर्तनका कारण चर्चामा आएको छ। सुरुमा ‘ब्याटल अफ गलवान’ नाम राखिएको यस फिल्मको शीर्षक परिवर्तनसँगै यसको कथावस्तुमा पनि ठूलो फेरबदल गरिएको खुलासा भएको हो।
भारतीय रक्षा मन्त्रालयको चासो र आपत्तिपछि फिल्मको करिब ४० प्रतिशत भाग पुनः छायाङ्कन गरिएको बताइएको छ। सन् २०२० मा गलवान उपत्यका मा भएको भारत–चीन सैन्य झडप को पृष्ठभूमिमा आधारित कथाले संवेदनशील कूटनीतिक सम्बन्धमा असर पार्न सक्ने भन्दै मन्त्रालयले केही दृश्य संशोधन गर्न सुझाव दिएको थियो।
हाल भारत र चीन बीचको सम्बन्ध सुधारोन्मुख रहेको सन्दर्भमा फिल्ममा ‘चीन’ को प्रत्यक्ष संलग्नता उल्लेख नगर्न निर्माताहरूलाई सल्लाह दिइएको छ। निर्देशक अपूर्व लाखियाले उक्त निर्देशन पालना गर्दै फिल्मबाट छिमेकी देशसँग सम्बन्धित सिधा सन्दर्भ हटाएका छन्।
पछिल्लो रिपोर्टअनुसार अब फिल्मलाई ‘सत्य घटनामा आधारित’ भन्दा ‘काल्पनिक कथा’ को रूपमा रूपान्तरण गरिएको छ। पुनः छायाङ्कनमार्फत नयाँ दृश्यहरू थपिनुका साथै पात्रहरूको भावनात्मक पाटो र कथावस्तुलाई थप सशक्त बनाइएको दाबी गरिएको छ।
यद्यपि यति ठूलो फेरबदलपछि पनि फिल्मको प्रदर्शन मिति अझै अन्योलमै रहेको छ। रक्षा मन्त्रालयले केही विषयमा अझै असन्तुष्टि जनाइरहेकाले ‘मातृभूमि’को रिलिज कहिले हुने भन्ने स्पष्ट भइसकेको छैन।



तपाईको प्रतिक्रिया दिनुहोस