सुपरस्टार अल्लु अर्जुनलाई अदालतमा आफैँ उपस्थित हुन कडा आदेश
तेलुगु फिल्मका सुपरस्टार अल्लु अर्जुन गम्भीर कानुनी संकटमा फसेका छन्। हैदराबादको नम्पल्ली अदालतले उनलाई अदालतमा व्यक्तिगत रूपमा नै उपस्थित हुन कडा आदेश जारी गरेको छ।
यो कानुनी कारबाही सन् २०२४ डिसेम्बरमा उनको ब्लकबस्टर फिल्म ‘पुष्पा २: द रुल’ को विशेष शोका क्रममा भएको घातक भगदौडसँग सम्बन्धित छ । भागदौडमा एक महिलाले ज्यान गुमाएकी थिइन्।
यस दर्दनाक दुर्घटनाको अनुसन्धान गरिरहेको प्रहरीले अदालतमा विस्तृत चार्जसिट (अभियोगपत्र) दर्ता गरेको छ। समाचार एजेन्सी एएनआईका अनुसार प्रहरीको चार्जसिटमा कुल २३ जनालाई अभियुक्त बनाइएको छ। आरोपीमा सन्ध्या थिएटरको व्यवस्थापन पक्ष र अभिनेता अल्लु अर्जुनलाई तोकिएको छ ।
भिड व्यवस्थापनमा चरम लापरवाही र सुरक्षा संयन्त्र पूर्ण रूपमा असफल भएको ठहर गर्दै अदालतले अभिनेता अर्जुनसहित १९ जना आरोपीहरूलाई आगामी जुन २२ मा आफैँ अदालतमा हाजिर हुन निर्देशन दिएको छ।यो सम्पूर्ण घटना सन् २०२४ डिसेम्बर ४ तारिखको हो। हैदराबादको चर्चित 'सन्ध्या थिएटर' मा फिल्म ‘पुष्पा २’ रिलिजको अवसरमा विशेष प्रिमियर शो आयोजना गरिएको थियो। तर, थिएटर परिसरमा क्षमताभन्दा कयौँ गुणा बढी मानिसहरू ओइरिएका थिए।
अल्लु अर्जुन आफैँ थिएटर पुगेपछि उनलाई हेर्न लालायित प्रशंसकहरूको अनियन्त्रित भिड प्रवेशद्वारतर्फ दौडिएको थियो। जसका कारण एकाएक भागदौड मच्चियो र सुरक्षा व्यवस्था तासको महलझैँ ढल्यो। उक्त दुर्घटनामा रेवती नाम गरेकी एक महिलाको किचिएर मृत्यु भयो भने उनका छोरा गम्भीर घाइते भए। प्रहरीको चार्जसिटमा थिएटर प्रशासन, सुरक्षा गार्ड र इभेन्ट म्यानेजमेन्टको गम्भीर लापरवाहीलाई नै दुर्घटनाको मुख्य कारण मानिएको छ।
यसअघि, यही भगदौड प्रकरणमा अल्लु अर्जुनलाई डिसेम्बर १३ मा प्रहरीले पक्राउ गरेको थियो। गिरफ्तारी लगतै स्थानीय अदालतले उनलाई १४ दिनको न्यायिक हिरासतमा पठाउने आदेश दिएको थियो।
जेल चलान हुनसाथ अल्लु अर्जुनले अन्तरिम जमानतका लागि तेलंगाना उच्च अदालतमा गुहार मागेका थिए। सोही दिन बेलुका उनलाई ५० हजार भारुको व्यक्तिगत धरौटीमा अन्तरिम जमानत स्वीकृत भयो। कानुनी प्रक्रिया पूरा गर्दागर्दै उनलाई चञ्चलगुडा सेन्ट्रल जेल पुर्याइयो र उनी अर्को दिन शनिबार बिहान साढे ६ बजे मात्र जेलमुक्त भए। यस क्रममा उनी करिब १८ घण्टा प्रहरी हिरासतमा रहेका थिए।
'घटनामा मेरो सीधा संलग्नता छैन' : अल्लु अर्जुन
जेलबाट रिहा भएपछि पत्रकार सम्मेलन गर्दै अल्लु अर्जुनले घटनाप्रति दुःख व्यक्त गरेका थिए। उनले भनेका थिए - "यो सब एउटा अप्रत्याशित दुर्घटना थियो। म परिवारसहित सिनेमाघरमा फिल्म हेर्न मात्र गएको थिएँ। यो घटना थिएटर बाहिर घटेको हो र यसमा मेरो कुनै सीधा संलग्नता छैन। म पीडित परिवारको साथमा छु र उनीहरूलाई आवश्यक हरतरहको मद्दत गर्नेछु।"
घटनालगत्तै अर्जुनले पीडित परिवारसँग सम्पर्क गरी घाइते बालकको उपचारका लागि आर्थिक र मेडिकल सहयोग समेत उपलब्ध गराएका थिए। यद्यपि, अदालतको नयाँ आदेशले उनलाई पुनः कानुनी कठघरामा उभ्याएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस