जेनजी आन्दोलनमा प्रयोग गरिएका ‘TOB’ लेखिएको टी–सर्टको अर्थ के हो ?

जेन–जी आन्दोलनको क्रममा ‘हामी नेपाल’का अध्यक्ष सुदन गुरुङ समूहले विशेष टी–सर्ट लगाएको देखिएको छ। समूहका सदस्यहरूको टी–सर्टमा अंग्रेजीका तीन अक्षर T.O.B लेखिएको थियो। कालो टी–सर्टमा तिब्बती मिथकका प्रतीकसमेत अंकित थिए।
प्रदर्शनमा सहभागी केही सदस्यहरूले कालो झन्डा बोक्दा र टी–सर्टमा T.O.B – Tibetan Original Blood लेखिएको लुगा लगाएका थिए। उनीहरूले "हाम्रो देश, हाम्रो राज" जस्ता नारा लगाएका थिए । टी–सर्टको अक्षर र लोगो रंग फरक भए पनि डिजाइन समान रहेको प्रहरीले जनाएको छ।
सुरक्षा निकायका अधिकारीहरूले समूहका केही सदस्यहरूको हातमा विशेष प्रकारका ट्याटुहरू रहेको जानकारी पाएका छन्। यी विवरण इन्टाग्राममा भेटिने T.O.B Blood नामक समूहसँग मेल खान्छ। समूहका अधिकांश सदस्यहरूका शरीरका भागमा ट्याटु पनि देखिन्छ।
सो समूहको नेतृत्वकर्ता तेन्जिङ दावा हुन्, जो स्वयं ट्याटु आर्टिस्ट पनि हुन् । उनी T.O.B ट्याटु स्टुडियोसँग संलग्न देखिएका छन्। समूहका सदस्य बिराज खड्काले इन्टाग्राममा भिडियो पोस्ट गर्दै आन्दोलनमा सहभागी भएपनि कुनै तोडफोड नगरेको दाबी गरेका छन्। उनले प्रदर्शनमा बाइक पड्काएको उल्लेख गर्दै माफी मागेका छन्। तेन्जिङ दावाले आफ्नो फेसबुक पेजमा ‘Stay Mad’ लेख्दै बाइक पड्काउने कार्य प्रदर्शनको एक भाग मात्र भएको र कुनै व्यक्तिविरुद्ध लक्षित नभएको उल्लेख गरेका छन्।
सुरक्षा निकायका अनुसार T.O.B समूहमा बाइकर्सको समूह पनि समावेश छ। यस समूहका हाकिम गुरुङले आफ्नो पोस्टमा आन्दोलनको दिन १५० जनाभन्दा बढी T.O.B ब्लड समूहका सदस्य सहभागी भएको र कालो झन्डा बोकेका जनाएका छन्। उनले समूहका कुनै सदस्यले कानुन विपरीत काम गरेको भए कानुन अनुसार सजाय भोग्न तयार रहेको लेखेका छन्।
सुदन गुरुङ स्वयं जेन–जी आन्दोलनको पहिलो दिन पानी बाँड्ने स्वयंसेवक थिए र अहिले राजनीतिक गतिविधिमा सक्रिय छन्। उनले सरकारी कार्यक्रम, गृहमन्त्रीसँग छलफल, र राष्ट्रपति रामचन्द्र पौडेलसँगको भेटमा जेन–जी समूहको प्रतिनिधित्व गरेका छन्।
‘हामी नेपाल’ समूहको टी–सर्ट र ‘Tibetan Original Blood’ लेखिएको चर्चा सामाजिक सञ्जालमा व्यापक भएको छ। समूहले स्वतन्त्र तिब्बतको पक्षमा काम गर्ने आफ्नो परिचय सामाजिक सञ्जाल मार्फत दिएको छ। यस विषयमा सामाजिक सञ्जालमा आपत्ति र आलोचना बढेको छ।
तपाईको प्रतिक्रिया दिनुहोस