Techie IT
२०८२ जेष्ठ १६, शुक्रबार

चिम्पान्जीहरू यसरी गर्छन् प्राथमिक उपचार


के तपाइले चिम्पान्जीहरू चोटपटक लाग्दा आफै उपचार गर्छन् भन्ने थाहा छ ? त्यति मात्र हैन चिम्पान्जीहरुले दुःख पर्दा एकआपसमा सहानुभूति पनि दिन्छन् भन्ने सुन्नु भएको छ ?

चोटपटक लागेको अवस्थामा चिम्पान्जीहरूले के गर्दा रहेछन् भन्ने खोजी गर्ने क्रममा ती जीवले आफ्नो उपचारका लागि निश्चित प्रकारका बोटबिरुवा खोज्ने र खाने गरेको गत वर्ष पत्ता लागेको थियो ।

अक्स्फर्ड विश्वविद्यालयका वैज्ञानिकहरूले चिम्पान्जीहरूले आफ्नो र कहिलेकाहीँ आफ्नो समूहका अरू जीवको 'प्राथमिक उपचार'का लागि औषधीय वनस्पति प्रयोग गरेको देखिने दृश्य पनि खिचेका छन् । यसअघि अरू वैज्ञानिकहरूले दशकौँ देखि गरेका अवलोकनको अभिलेख र अक्स्फर्डका वैज्ञानिकहरूको पछिल्लो अध्ययनले चिम्पान्जीहरूले "जङ्गलमा प्राथमिक उपचार" गर्ने विभिन्न विधिहरू भएको देखाएका छन्।

पारिस्थितिक प्रणालीसम्बन्धी 'फ्रन्टिअर्स इन इकोलजी एन्ड ईभलूशन' जर्नलमा प्रकाशित शोधमा अनुसन्धानकर्ताहरूले जङ्गलमा स्वस्थ रहन चिम्पान्जी, ओराङ्उटान र गोरिलाहरूले प्राकृतिक औषधि प्रयोग गर्ने विभिन्न तरिकाबारे यसअघि जुटेका प्रमाणहरूमा थप तथ्यहरू जुटाएका छन् । अनुसन्धानको नेतृत्व गरेकी एलोडी फ्रिमनका अनुसार "जङ्गलमा चिम्पान्जीहरू बिरामी हुँदा वा घाइते हुँदा उनीहरूले उपचार र सरसफाइका लागि अपनाउने व्यवस्थित विधिहरू" हुने गर्छन्।

"त्यसमध्ये यहाँ पाइने वनस्पतिहरूको प्रयोग पनि पर्छ। उनीहरूले ती वनस्पति आफ्नो घाउमा दल्छन् वा चपाएर त्यसलाई चोट लागेको ठाउँमा लगाउँछन्," । सानै उमेरकी एउटा पोथी चिम्पान्जीले पनि केही चपाएर आफ्नी आमाको चोटमा दलिदिएको गरेको दृश्य वैज्ञानिकहरूले अध्ययन गरेका थिए । चिम्पान्जीहरूले आफूसँग सरोकार नभएका अरू जीवलाई घाउ हुँदा उपचार गर्न चासो दिएको अभिलेखबारे पनि अनुसन्धान गरिएको थियो। अनुसनधानकर्ता फ्रिमन आफ्नो अनुसन्धानका कारण निकै उत्साहित छन्। उनले भनिन् "जङ्गली चिम्पान्जीहरूमा पनि अरूप्रति समानुभूतिको भावना हुन्छ भन्ने कुरामा यसले अर्को प्रमाण जुटाएको छ," ।

डा फ्रिमन र उनका सहकर्मीहरूले बुडोङ्गो जङ्गलमा गरिएका हजारौँ अवलोकनको अभिलेख अध्ययन गरेका थिए । कतिपय उदाहरणीय प्रमाणहरू सन् १९९० को दशकसम्मका थिए । ती अभिलेख पुस्तिकामा जङ्गलमा खटिएका स्थानीय कर्मचारी, अनुसन्धाताहरू र अवलोकनकर्ताहरूले आफूले देखेको कुरा लेख्दै आएका थिए । चिम्पान्जीहरूबारे आफूले देखेका सबै रोचक कुरा अभिलेखमा राख्ने गरिएको छ । यस्ता पुस्तिकामा चिम्पान्जीहरूले अरू चिम्पान्जीलाई चोटपटक लागेका ठाउँमा पात दलिदिएको र हात पाखुराबाट पासो निकाल्न सहयोग गरेका विवरणहरू छन्।चिम्पान्जीहरूका कतिपय आनीबानीहरू मानिसका जस्तै रहेको पुराना अभिलेखपुस्तिकामा उल्लेख छ।

एउटा टिपोटअनुसार मलत्याग गरिसकेपछि कतिपय चिम्पान्जीहरूले मलद्वार पातले पुछेको देखिएको थियो।यो अनुसन्धान टोलीले चिम्पान्जीहरूले चोटपटक लागेका बेला खाने गरेका केही वनस्पतिको पहिचान यसअघि नै गरेको थियो।

वैज्ञानिकहरूले ती वनस्पतिका नमुना परीक्षण गर्दा अधिकांशमा एन्टि-ब्याक्टेरिअल अर्थात् ब्याक्टेरियालाई नियन्त्रण गर्ने क्षमता भएका तत्त्वहरू भएको पाइएको थियो ।

मानवजाति, चिम्पान्जीसहितका पुच्छरविहीन वानरसदृश जीव र बाँदरहरू प्राइमेट हुन्। चिन्पान्जीहरू सामान्यतया अरू 'एप'का तुलनामा "हिंसक" र "निरङ्कुश" हुन्छन् भन्ने ठानिन्छ। तर आपत्‌मा पर्दा यी जीवहरूले एकअर्कालाई सान्त्वना दिने गरेको वैज्ञानिकहरूले पत्ता लगाएका छन्।

चिम्पान्जीको वारेमा अर्को अनुसन्धानले झन रोचक कुरा पत्ता लगाएको छ । 'बोनोबो'हरूले जस्तै चिम्पान्जीहरूले एकअर्कालाई सान्त्वना दिने गरेको पाइएको डर्हम विश्वविद्यालयका अनुसन्धानकर्ताहरूले पत्ता लगाएका हुन्। 'प्राइमेट' वर्गमा पर्ने जीवमध्ये बोनोबोहरूमा सर्वाधिक "समानुभूति" हुने ठानिन्छ । मानवजाति, चिम्पान्जीसहितका पुच्छरविहीन वानरसदृश जीव र बाँदरहरू प्राइमेट हुन्।

चिम्पान्जी र बोनोबोहरूले लडाइँ गरेर आएका सजातीय जीवप्रति कस्तो व्यवहार देखाउँछन् भन्ने जान्न अध्ययनकर्ताहरूको टोलीले कुल १,४०० घण्टा अवलोकन गरेको थियो । युवाहरूको तुलनामा पाको उमेरका बोनोबो र चिम्पान्जीहरूले आपत् झेलेर आएका सदस्यलाई सान्त्वना दिने सान्त्वना दिन चाहेको देखिएको अध्ययनको निष्कर्ष छ ।

एपहरूको प्रारम्भिक विकासकै बेला अरूप्रति भावनात्मक संवेदनशीलता विकास हुने उक्त अध्ययनको निष्कर्छ छ ।बोनोबोमा चाहिँ कम उमेरका जीवहरू अरूलाई बढी सान्त्वना दिन र लिन इच्छुक भएको पाइएको छ । चिम्पान्जीमा भाले युवा र हिमचिम बढी भएका सदस्यहरूले बढी सान्त्वना दिने गरेका छन्। दुवै जीवले मानिसहरूले जस्तै सान्त्वना दिन्छन् । 

त्यसो गर्दा बोनोबो र चिम्पान्जीहरू अरूलाई अँगालो हाल्छन्, हात समात्छन् र छोएर सान्त्वना दिन्छन्। "लामो समयदेखि बोनोबोहरूलाई सबैभन्दा धेरै समानुभूति राख्ने ठान्दै आइएको छ भने चिम्पान्जीलाई हिंसक र निरङ्कुश जीवका रूपमा हेरिँदै आएको छ," प्रमुख शोधकर्ता डा जेक ब्रूकरले भने।

"यद्यपि बोनोबोहरूले जस्तै चिम्पान्जीहरूले पनि एकअर्कालाई सहानुभूति दिने गरेको हामीले अध्ययनबाट थाहा पायौँ।" डरम विश्वविद्यालयका अनुसार ती दुई जीवको समानुभूति प्रत्यक्ष तुलनामा गरिएको यो नै पहिलो अध्ययन हो। अनुसन्धानकर्ताहरूले डेमोक्र्याटिक रिपब्लिक कङ्गोस्थित लोलो या बोनोबो स्याङ्क्चुरीका ४० वटा बोनोबो र जाम्बिआस्थित चिम्फुन्सी वाइल्डलाइफ ओर्फनिजका ५० वटा चिम्पान्जीको अध्ययन गरेका हुन्।

टेम्प्लेटन वर्ल्ड च्यारिटी फाउन्डेशनले उक्त अध्ययनका लागि रकम उपलब्ध गराएको बताइएको छ । अध्ययन टोलीले यो प्रकृतिको थप अध्ययनले मानवजातिको सामाजिक व्यवहारको विकास क्रमबारे प्रकाश पार्न सक्ने जनाएको छ । 

भिडियोमा हेर्नुहोस् 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट