Accident
चितवनदेखि कञ्चनपुरसम्म सवारी दुर्घटनामा ५ जनाको मृत्यु
देशका विभिन्न भागमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी एक बालक र भारतीय नागरिकसहित ५ जनाको ज्यान गएको छ। तीव्र गति र लापरबाहीका कारण भएका यी दुर्घटनामा अन्य केही व्यक्ति घाइते भएका छन्।
चितवनको माडी नगरपालिका-८ बेलौती डाँडामा प्रदेश २-०३-००१ त ७३०७ नम्बरको ट्याक्टर अनियन्त्रित भई दुर्घटना हुँदा चालकको ज्यान गएको छ। ३६ वर्षीय पूर्ण बहादुर प्रजाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका-८ पारीफाँटामा दुईवटा मोटरसाइकल एकआपसमा ठोक्किँदा ४५ वर्षीय मिन बहादुर जागरीको मृत्यु भएको छ। से.६ प ५९१३ नम्बरको मोटरसाइकल चालक जागरीको उपचारका क्रममा सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको हो। दुर्घटनामा घाइते भएका अन्य दुई जनाको मायामेट्रो अस्पताल धनगढीमा उपचार भइरहेको छ।
गोरखा नगरपालिका-८ बराहमा ग.१ ख ७४४३ नम्बरको ट्रकले ठक्कर दिँदा ३ वर्षीय बालक युहान्ना गुरूङको घटनास्थलमै मृत्यु भएको छ। आरूघाट गाउँपालिका-१ घर भई हाल सोही ठाउँमा डेरा गरी बस्ने बालकको ज्यान गएपछि प्रहरीले ट्रक चालकलाई नियन्त्रणमा लिएको छ।
सर्लाहीको हरीपुर्वा नगरपालिका-९ मा ग.१ ख ९४६७ नम्बरको बसले ना.४८ प ४७० नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा ३६ वर्षीय श्याम ठाकुर (पप्पु) को ज्यान गएको छ। गम्भीर घाइते ठाकुरको मलगंवास्थित प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो। प्रहरीले फरार बस चालकको खोजी तीव्र पारेको छ।
रूपन्देहीको लुम्बिनी साँस्कृतिक नगरपालिका-६ पिपरामा बिएए ००७९ नम्बरको कारले भारतीय नम्बर प्लेट (युपि ५५ बि ००३९) को मोटरसाइकललाई ठक्कर दिँदा एक भारतीय नागरिकको मृत्यु भएको छ। ४० वर्षीय बाबु साहेब लोधको भैरहवास्थित भीम अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो। प्रहरीले कार र मोटरसाइकल चालक दुवैलाई नियन्त्रणमा लिएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस