मोटरसाइकलसहित खोलामा खसेका आँखा उपचारकर्मीको मृत्यु
प्यूठानमा मोटरसाइकलसहित खोलामा खसेका एक युवक मृत अवस्थामा फेला परेका छन् । जिल्लाको गौमुखी गाउँपालिका–४ स्थित नेपाने खोलामा अर्घाखाँचीका २५ वर्षीय हेमराज राना मगरको शव भेटिएको हो ।
जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रवक्ता प्रहरी निरीक्षक हरि भट्टराईका अनुसार ठूलाबेसी–अर्खा सडकखण्ड अन्तर्गत ठूलाबेसीबाट अर्खातर्फ जाँदै गरेका मगर सवार लु ५६ प १७७६ नम्बरको मोटरसाइकल सडकबाट करिब ३५ मिटर तल खोलामा खसेको अवस्थामा शनिबार बिहान फेला परेको थियो ।
स्थानीयले मोटरसाइकलसहित एक व्यक्ति खोलामा डुबेको देखेपछि प्रहरीलाई खबर गरेका थिए । त्यसपछि पुगेको प्रहरी टोलीले मगरलाई मोटरसाइकलसहित पानीमा डुबेको अवस्थामा फेला पारेको जनाएको छ ।
प्रहरीका अनुसार दुर्घटना शुक्रबार राति भएको अनुमान गरिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।
मृतक हेमराज राना मगर ठूलाबेसीस्थित नरेन्द्र गायत्री आँखा अस्पतालको शाखा आँखा उपचार केन्द्रमा कार्यरत रहेको प्रहरीले जनाएको छ ।



तपाईको प्रतिक्रिया दिनुहोस