यस्तो हुनेछ रबि माथिको न्यायिक प्रक्रिया !!
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई पोखराको सूर्यदर्शन सहकारी ठगीको आरोपमा प्रहरीले पक्राउ गरेको छ। कास्की जिल्ला अदालतले पक्राउका लागि अनुमति दिएसँगै प्रहरीले उनलाई हिरासतमा लिएको हो। शनिबार अदालत बिदा रहेकाले रविलाई आइतबार मात्र अदालतमा पेस गरिनेछ।
यसै मुद्दामा, रविका सहकर्मी छविलाल जोशीलाई पनि अदालतले अनुसन्धानका लागि २० दिनको म्याद थप गरेको छ। असोज १७ गतेदेखि लागू हुने उक्त म्यादको आधारमा छवि पनि थुनामा रहने भएका छन्। रवि र छविलाल दुवैलाई सहकारीको रकम अपचलन गरेको अभियोगमा पक्राउ गरिएको हो, र उनीहरूमाथि थप अनुसन्धान गर्न प्रहरीले कास्की जिल्ला अदालतमा म्याद माग्ने तयारी गरेको छ।
ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको आरोप
रवि लामिछानेमाथि सहकारी ऐन, २०७४ अन्तर्गत ठगी, संगठित अपराध निवारण ऐन, २०६४ अन्तर्गत संगठित अपराध, र सम्पत्ति शुद्धीकरणमा संलग्न रहेको आरोप लगाइएको छ। प्रहरीका अनुसार, सूर्यदर्शन सहकारीमार्फत ठगी गरेर संगठित रूपमा अपराध गरेको ठहर गरिएपछि उनीहरूमाथि अनुसन्धान प्रक्रिया सुरु भएको हो।
प्रहरीले रविमाथि अनुसन्धान गर्न पाँचदेखि सात दिनको म्याद माग्ने तयारी गरेको छ। यदि अनुसन्धानका लागि थप प्रमाण आवश्यक परेमा, म्याद पुनः थप गरिनेछ। प्रहरीलाई ६० दिनसम्म अनुसन्धान गर्नका लागि समय दिइने सम्भावना रहेको छ। यस अवधिमा सम्पत्ति शुद्धीकरणसम्बन्धी थप अनुसन्धान आवश्यक परेमा ९० दिनसम्मको म्याद थप्न सकिनेछ।
न्यायिक प्रक्रिया
रविलाई आइतबार अदालतमा पेस गरेपछि सरकारी वकिलको टोलीले उनीमाथि बहस गर्नेछ। दुवै पक्षको बहसपछि अदालतले अनुसन्धानका लागि प्रहरीलाई आवश्यक समय उपलब्ध गराउने छ। प्रहरीले अनुसन्धान प्रतिवेदन तयार गरेपछि जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाउनेछ, जसबाट अदालतमा अभियोगपत्र दर्ता गरिनेछ।
रवि लामिछानेमाथि लागेका गम्भीर आरोपहरूका कारण थुनछेक बहसपछि उनलाई थुनामा राख्ने वा धरौटीमा रिहा गर्ने निर्णय अदालतले सुनाउनेछ। यदि अदालतले धरौटीमा रिहा गरे, उनी तत्काल बाहिर आउने छन्; तर थुनामा पठाएमा उनी जेलमा रहनेछन्।
अपिलको सम्भावना
जिल्ला अदालतको निर्णयले रवि लामिछानेको पक्षमा नपरेमा, उनले उच्च अदालत पोखरा वा सर्वोच्च अदालतमा अपिल गर्न सक्नेछन्। यसरी अदालतको विभिन्न तहमा जाने बाटो उनलाई खुला हुनेछ।



तपाईको प्रतिक्रिया दिनुहोस