तिहार नजिकिएसँगै मादलको बिक्री बढ्यो
तिहारको चाड नजिकिएसँगै धरानमा मादलको बिक्रीमा वृद्धि भएको छ।
तिहारको चाड नजिकिएसँगै धरानमा मादलको बिक्रीमा वृद्धि भएको छ। नेपाली सांस्कृतिक बाजाजातमा मादल एक महत्वपूर्ण स्थान राख्दछ, र चाडपर्वको बेला यसको माग बढ्न थाल्छ।
धरानको मुख्य बजार भानु चोकदेखि पूर्वको देसी लाइनमा मादल बिक्री गर्ने यदुनाथ अधिकारीले बताउनुहुन्छ कि तिहार नजिकिँदै गर्दा बिक्रीमा वृद्धि भएको छ। विगत १५ वर्षदेखि मादल र खुकुरीको व्यापार गर्दै आएका अधिकारीका अनुसार, तिहारको समयमा एक दिनमा ८ देखि १० मादल बिक्री हुने गर्छ।
अधिकारीले लक्ष्मी पूजाको दिनदेखि मादल बेच्न व्यस्त हुने कुरा पनि बताउनुहुन्छ। हाल उहाँ भोजपुर, धनकुटा र पश्चिममा बनाइएका मादलहरू बिक्री गर्दै हुनुहुन्छ।
धरान उपमहानगरपालिका–२ छाता चोकका सुमन चौधरीले पनि तिहारमा मादलको बिक्री अन्य समयमा भन्दा धेरै हुने बताए। विगत २० वर्षदेखि मादल र गितार जस्ता संगीत उपकरणहरूको व्यापार गर्दै आएका चौधरीका अनुसार, तिहारमा देउसी भैलो खेल्ने टोलीहरूले बढी मादल किन्ने गरेका छन्। उनले तिहारको समयमा ३० देखि ४० मादल बिक्री हुने बताएका छन्।
चौधरीले भोजपुर, खाँदबारी, चैनपुर, धनकुटा, हिले, सिदुवा, उदयपुर, रामपुर र बेलटारलगायतका स्थानमा मादल बिक्री गर्न जाने बताउँदै, पसलमा तीन हजारदेखि आठ हजार रुपैयाँका मादल बिक्रीका लागि राखिएको जानकारी दिनुहुन्छ।



तपाईको प्रतिक्रिया दिनुहोस