कालिकामाई गाउँपालिका कार्यालयमा अज्ञात समूहद्वारा आगजनी
पर्साको कालिकामाई गाउँपालिकाको कार्यालयमा अज्ञात समूहले आगजनी गरेको छ । गाउँपालिका–३ हरिहरपुरवीर्तास्थित कार्यालयमा गए राति मुख्य गेटको ताल्चा फोडेर भित्र प्रवेश गरेको समूहले आगजनी गरेको प्रहरीले जनाएको छ ।
बिहीबार बिहान कार्यालय समयमा कर्मचारीहरू भित्र प्रवेश गर्दा कोठाहरूमा आगजनी भएको देखेपछि तत्काल प्रहरीलाई खबर गरेका थिए । जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक (डीएसपी) चक्रबहादुर मल्लका अनुसार आगजनीबाट कार्यालयका महत्त्वपूर्ण कागजपत्र, विभिन्न शाखामा रहेका कुर्सी, टेबललगायतका फर्निचर, एसी र कम्प्युटरहरू जलेर नष्ट भएका छन् ।
घटनामा संलग्न समूहको पहिचान हुन सकेको छैन । आगजनी कसले र किन गर्यो भन्ने विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।



तपाईको प्रतिक्रिया दिनुहोस