Techie IT
२०८३ कार्तिक २८, शुक्रबार

इतिहासको बहाव रोकिँदैन, ताइवानको एकीकरण भएरै छाड्छ - राष्ट्रपति सी

मातृभूमिको पूर्ण एकीकरण हुनैपर्छ र यो निश्चित रूपमा भएरै छाड्छ


Photo:Maxim Shemetov / POOL / AFP

चीनका राष्ट्रपति सी चिनफिङले ताइवानसँगको एकीकरणप्रतिको प्रतिबद्धता दोहोर्‍याउँदै मातृभूमिको पूर्ण एकीकरणलाई ‘इतिहासको अपरिहार्य दिशा’ भएको बताएका छन् ।

बिहीबार (नोभेम्बर १२) बेइजिङस्थित ‘ग्रेट हल अफ द पिपल’ मा आधुनिक चीनका प्रवर्तक नेता सन यात–सेनको १६०औँ जन्मजयन्तीका अवसरमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति सीले ताइवान मुद्दाको समाधान गर्नु चिनियाँ कम्युनिस्ट पार्टीको ‘अटल ऐतिहासिक मिसन’ भएको बताएका छन् ।

“इतिहासको बहावलाई रोक्न सकिँदैन,” राष्ट्रपति सीले भने, “मातृभूमिको पूर्ण एकीकरण हुनैपर्छ र यो निश्चित रूपमा भएरै छाड्छ ।”

सम्बोधनका क्रममा सीले चीन ‘शान्तिपूर्ण एकीकरण’ र ‘एक देश, दुई व्यवस्था’ को नीतिमा प्रतिबद्ध रहेको उल्लेख गरेका थिए । साथै, ‘एक चीन’ सिद्धान्तका आधारमा ताइवानसँग वार्ता गर्न बेइजिङ सदैव तयार रहेको उनको भनाइ थियो । ताइवानका नागरिकसहित सम्पूर्ण चिनियाँहरूलाई एकजुट भई ताइवान स्वतन्त्रताका पक्षधर ‘अलगाववादी’ शक्तिहरूको विरोध गर्न र दुवै पक्षबीच शान्तिपूर्ण सम्बन्ध विस्तार गर्न उनले आह्वान गरे ।

एकातिर शान्तिको आह्वान, अर्कोतिर सैन्य दबाब
यद्यपि राष्ट्रपति सीले आफ्नो भाषणमा बल प्रयोगको सम्भावनाबारे प्रत्यक्ष उल्लेख गरेनन्, तर चीनले ताइवानमाथि सैन्य दबाब भने निरन्तर कायम राखेको छ । सीको सम्बोधन भएकै दिन बिहीबार ताइवानको रक्षा मन्त्रालयले आफ्नो टापुवरिपरि २९ वटा चिनियाँ सैन्य विमान (जे–१६ लडाकु विमान र ड्रोनसहित) तथा युद्धपोतहरूले ‘संयुक्त युद्ध तयारी गस्ती’ गरेको जनाएको छ ।

प्रजातान्त्रिक शासन व्यवस्था रहेको ताइवानले बेइजिङको सार्वभौमिकताको दाबीलाई कडा रूपमा अस्वीकार गर्दै आएको छ । ताइवानका कुनै पनि प्रमुख राजनीतिक दलले बेइजिङले प्रस्ताव गरेको ‘एक देश, दुई व्यवस्था’ मोडललाई स्वीकार गरेका छैनन् । ताइवानका राष्ट्रपति लाइ चिङ–तेले टापुको भविष्य त्यहाँका जनताले मात्रै निर्धारण गर्ने अडान राख्दै आएका छन् । बेइजिङले भने राष्ट्रपति लाइ लाई ‘अलगाववादी’ नेताको संज्ञा दिँदै उनको सरकारसँग औपचारिक संवाद अस्वीकार गर्दै आएको छ ।

ट्रम्पसँगको भेट र ताइवान चुनावअघिको अर्थपूर्ण सन्देश
राष्ट्रपति सीको यो अभिव्यक्ति अर्को साता चीनको दक्षिणी प्रविधि हब शेनझेनमा हुन लागेको एसिया–प्रशान्त आर्थिक सहयोग (एपेक) शिखर सम्मेलनको ठीक एक हप्ताअघि आएको हो । उक्त सम्मेलनमा सी र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच पुनः भेटवार्ता हुने तय भएको छ । यसका साथै, ताइवानमा स्थानीय निर्वाचन आउन करिब दुई साता मात्र बाँकी रहँदा सीको यो भनाइलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।

यसअघि गत सेप्टेम्बरमा वासिङ्टनको राजकीय भ्रमणका क्रममा राष्ट्रपति सीले समकक्षी ट्रम्पलाई ताइवानको विषयमा ‘संयम’ अपनाउन र टापुको स्वतन्त्रताको विरोध गर्न आग्रह गरेका थिए । अमेरिकाले गत मे महिनामा ताइवानलाई बिक्री गर्ने भनिएको १४ अर्ब डलर बराबरको हतियार खरिद प्रक्रिया रोकेको थियो । राष्ट्रपति ट्रम्पले उक्त हतियार सम्झौतालाई चीनसँगको व्यापार तथा कूटनीतिक वार्तामा ‘एक निकै राम्रो बार्गेनिङ चिप (मोलमोलाइको माध्यम)’ भनेपछि ताइवानको सुरक्षामा अमेरिकाले सम्झौता गर्न सक्ने आशङ्का बढेको छ ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट