हलभित्र सोफामा बसेर ताली बजाउने दिन गए : सभापति थापा
नेपाली काङ्ग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले जनता र पार्टीबीचको सम्बन्धलाई थप प्रगाढ बनाउन आगामी मङ्सिर महिनाभरि देशव्यापी अभियान सञ्चालन गरिने घोषणा गर्नुभएको छ।
नयाँ केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूको शपथ ग्रहणपछि सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको पहिलो बैठकलाई सम्बोधन गर्दै सभापति थापाले ‘हामी तयार छौँ’ भन्ने मूल सन्देशसहित महिनाभरि देशव्यापी अभियान चलाइने जानकारी दिनुभयो।
सभापति थापाले छिट्टै पार्टीको पूर्ण बैठक (पूर्ण कदको केन्द्रीय समिति) डाकेर सबैको धारणा सुन्ने र त्यसकै आधारमा चार वर्षको स्पष्ट ‘क्यालेन्डर’ बनाएर अनुशासित रूपमा काम अगाडि बढाउने बताउनुभयो। प्रतिपक्षको मुख्य जिम्मेवारी सरकारमाथिको निगरानी भएकाले कानुनको शासन उल्लङ्घनविरुद्ध काङ्ग्रेस सशक्त रूपमा उभिने उहाँको भनाइ थियो।
यसैगरी, पार्टीलाई नीतिगत र संरचनात्मक रूपमा बलियो बनाउन तिहार र छठलगत्तै ‘लीडरशिप एकेडेमी’, ‘इलेक्सन ब्युरो’ र ‘गभर्नन्स इन्स्टिच्युट’ ले काम सुरु गर्ने उहाँले जानकारी दिनुभयो। अब नेता तथा कार्यकर्ताको रुचि अनुसार कार्यविभाजन गरिने र सह-महामन्त्रीहरूलाई स्पष्ट कार्ययोजनाका साथ जिम्मेवारी तोकिने उहाँले स्पष्ट पार्नुभयो।
बैठकमा सभापति थापाले पार्टीका परम्परागत र भद्दा शैलीका कार्यक्रमहरू बन्द गर्ने घोषणासमेत गर्नुभयो। "हलभित्र सोफामा बसेर ताली बजाउने खालका शुभकामना आदानप्रदान कार्यक्रमहरू अब काङ्ग्रेसले गर्दैन," उहाँले भन्नुभयो, "सरसफाइ, विपन्नलाई सहयोग वा समुदायसँग प्रत्यक्ष जोडिने रचनात्मक कार्यक्रम आयोजना गरिएमा मात्र म सहभागी हुनेछु।"



तपाईको प्रतिक्रिया दिनुहोस