नेप्से २७ अंकले उकालो, ५ अर्बको शेयर कारोबार, लगानी कर्ताहरूमा आशा जाग्यो
धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज २७.४१ अङ्कले उकालो लागेको छ । यसले लगानीकर्ताहरूमा आशा जगाएको छ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का अनुसार, नेप्से परिसूचक २६४५.३६ बिन्दुमा पुगेको छ, जुन गत तीन कारोबार दिनको गिरावटपछि आएको १.०४ प्रतिशतको सुधार हो।
आज कुल २१३ कम्पनीको शेयर मूल्यमा वृद्धि भएको छ भने २८ कम्पनीको मूल्य घटेको छ, दुई कम्पनीको मूल्य स्थिर रह्यो। कुल ५८,५५२ पटकको कारोबारबाट ५ अर्ब ३४ करोड ४८ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।
आजको दिनमा कुल १ करोड ४ लाख १८ हजार ९२६ कित्ता शेयर किनबेच भयो, जसले लगानी कर्ताहरूमा बजार प्रतिको भरोसा अझ बढाएको देखिन्छ।
आज नेप्सेका १३ वटै उपसमूहहरूको शेयर मूल्यमा वृद्धि भएको छ। विशेष गरी जीवन बीमा समूह २३६.६५ अंकले उकालो लागेको छ भने फाइनान्स समूह ११६.६८ अंक र उत्पादन तथा प्रशोधन समूह ९२.९९ अंकले वृद्धि भएको छ। यसले बीमा र वित्तीय क्षेत्रमा लगानीकर्ताको चासो र विश्वास अझ बढिरहेको देखाउँछ।
आजको दिनमा जानकी फाइनान्स र डोल्टी पावरको शेयर मूल्यमा १० प्रतिशतको वृद्धि भई सकारात्मक सर्किट लागेको छ। यसैगरी, रिभर फल्स पावरको शेयर मूल्य ९.५४ प्रतिशतले र मेछ्याङ हाइड्रोपावरको शेयर मूल्य ९.१३ प्रतिशतले बढेको छ। माया खोला हाइड्रोपावरका लगानीकर्ताले ६.९९ प्रतिशतले फाइदा कमाएका छन्।
त्यसैगरी, पिपल्स वरका लगानीकर्ताले ६.०२ प्रतिशत गुमाएका छन् भने कालिञ्चोक दर्शन लिमिटेड ४.३५ प्रतिशत, समृद्धि फाइनान्स कम्पनी ३.९६ प्रतिशत, विन नेपाल लघुवित्त २.८९ प्रतिशत र नेपाल एसबिआई बैंकका लगानीकर्ताले २.६३ प्रतिशतले गुमाएका छन्।
बजारको यो उकालोले आगामी दिनमा पनि लगानी कर्ताको उत्साह कायम रहने अनुमान गरिएको छ। नेप्सेका सबै उपसमूहको वृद्धि लगानी कर्तालाई विविध क्षेत्रमा लगानीका अवसरहरूको संकेत दिएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस