तिहारपछि खुलेको सेयर बजारमा सामान्य गिरावट, कारोबार ४ अर्ब २० करोड
तिहार बिदापछि पहिलोपटक खुलेको सेयर बजारमा मंगलबार सामान्य गिरावट देखिएको छ। तीव्र उतारचढावका बीच नेप्से परिसूचक ०.२१ अंकले घटेर २,६७७.४० अंकमा पुगेको छ। यस दिन बजार २,६९७ अंकसम्म पुग्दा न्यूनतम २,६७० अंकमा झरेको थियो।
बजारमा मंगलबार कुल ४ अर्ब २० करोड रुपैयाँ बराबरको कारोबार भएको छ। सात उपसूचकहरू बढ्दा बैंकिङ समूह लगायत ६ उपसूचक घटेका छन्। सबैभन्दा धेरै वृद्धि निर्जीवन बीमा समूहमा १.०६ प्रतिशतले भएको छ भने बैंकिङ समूहमा ०.८१ प्रतिशतको गिरावट देखिएको छ।
सुपर माइ हाइड्रोपावरको शेयरमा सकारात्मक सर्किट लागेको छ, जसको शेयरमूल्य १०३.७० रुपैयाँ बढेर १,१४०.७० रुपैयाँमा पुगेको छ।
यसैगरी, समाज लघुवित्त र युनाइटेड मोदी हाइड्रोपावरका सेयर पनि ९ प्रतिशतभन्दा धेरैले वृद्धि भएको छ। तर, मिड सोलु हाइड्रोपावरको मूल्य १० प्रतिशत घटेर नकारात्मक सर्किट लागेको छ।
कारोबार रकमको हिसाबले नेपाल फाइनान्स शीर्ष स्थानमा रहेको छ, जसको २९ करोड ९० लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ। कारोबार संख्यामा मध्य भोटेकोसी शीर्ष स्थानमा रहँदा प्रभु सेलेक्ट फण्ड कारोबार भोल्युममा पहिलो स्थानमा रहेको छ।
१३ उपसमूहमध्ये ७ उपसमूहको परिसूचकमा वृद्धि हुँदा बैंकिङ्ग, विकास बैंक, लगानी, उत्पादन तथा प्रशोधन, लघुवित्त र व्यापार उपसमूहको परिसूचक घटेको छ।



तपाईको प्रतिक्रिया दिनुहोस