Techie IT
२०८२ कार्तिक ९, आइतबार

तनहुँ र म्याग्दीमा भित्र्याउने बेलाको धानबालीमा वर्षाले ठुलो क्षति


भीषण वर्षाका कारण तनहुँ र म्याग्दीका विभिन्न स्थानमा भित्र्याउने बेला भएको धानबालीमा ठूलो क्षति भएको छ।

तनहुँका दशवटा पालिकामा धानबालीलाई वर्षाले व्यापक क्षति पुर्‍याएको कृषि ज्ञान केन्द्रले जनाएको छ। केन्द्रका अनुसार सबै स्थानमा भएको क्षतिको विवरण संकलन कार्य जारी छ।

तनहुँमा यस वर्ष आठ हजार हेक्टर जमिनमा धान रोपिएको थियो। यहाँ राधा, सावित्री रामधान, सुगन्ध मसिनो, अनदी, सुनौलो सुगन्ध, र मकवानपुरलगायतका विभिन्न किसिमका धान खेती गरिन्छ। गत वर्ष जिल्लामा ३३,२८० मेट्रिक टन वर्षे र ७,९३८ मेट्रिक टन चैतेधान उत्पादन भएको थियो।

धानखेतीका लागि प्रसिद्ध तनहुँका तनहुँसुर, सेपाबगैंचा, कलेस्ती, पुर्कोट, गजरकोटको अत्रौली, आँबुखैरेनी, र साँगेलगायत क्षेत्रहरूमा पनि वर्षाले नोक्सान पुर्‍याएको छ। तनहुँमा ६५,०६१ हेक्टर खेतीयोग्य जमिन भए पनि, १३,५५१ हेक्टर जमिन बाँझो रहेको जानकारी दिइएको छ।

म्याग्दीमा पनि सोमबार र मङ्गलबारको वर्षाले थन्क्याउने तयारीमा रहेको धानलाई क्षति पुर्‍याएको छ। किसानहरूले खेतमा काटेर सुकाएको धान र पराललाई वर्षाले डुबाएको बताएका छन्। विशेष गरी रघुगङ्गा, मालिका, मङ्गला गाउँपालिका र बेनी नगरपालिकाका किसानहरू तिहार सकिएपछि धान भित्र्याउने तयारीमा थिए।

यसैगरी, कात्तिक ६ गते साँझ म्याग्दीमा परेको असिनापानीले पनि धान र कोदोबालीमा ठुलो क्षति पुर्‍याएको थियो। बेनी नगरपालिका वडा नं २ मा पाक्न लागेको धानबालीको २५ देखि ८० प्रतिशत र कोदोबालीको ५० प्रतिशतसम्म क्षति भएको वडासदस्य चन्द्रकान्त रिजालले जानकारी दिएका छन्।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट