रवि लामिछानेलाई रास्वपाको सदस्यता त्याग्नुपर्छ ; मुकुल ढकाल

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वप)ले महामन्त्री मुकुल ढकाललाई साधारण सदस्य समेत नरहने गरी निलम्बित गरेपछि ढकालले पार्टी सभापति रवि लामिछानेलाई सदस्यता त्याग्नुपर्ने बताएका छन्। मंगलबार सामाजिक सञ्जालमा पोस्ट गर्दै ढकालले लामिछानेको पार्टी सदस्यता र नैतिकता माथि प्रश्न उठाएका छन्।
ढकालले लेखेका छन्, "रवि लामिछाने क्लबबाट निष्काशित भएको हुँ। राष्ट्रिय स्वतन्त्र पार्टीबाट निष्काशन गर्ने अधिकार क्लबलाई छैन। न्यायिक निकायले क्लबको कारबाहीलाई बदर गरेपछि नैतिकताको आधारमा रवि लामिछानेले पार्टीको साधारण सदस्यबाट राजीनामा दिनुपर्छ।" उनले लामिछानेको नैतिकतामा समेत प्रश्न उठाउँदै, "नैतिक रूपले पतित पात्र रवि लामिछानेबाट मैले नैतिकताको अपेक्षा त गर्न नमिल्ला। तर पनि उनी कतिसम्म पतित रहेछन्, हेर्दै जाउँला। समयले पुष्टि गर्दै जानेछ," भनेका छन्।
सहकारी ठगी प्रकरणमा लामिछानेले भ्रम सिर्जना गरेको आरोप लगाउँदै ढकालले थप लेखेका छन्, “सहकारी प्रकरणका सवालमा रवि लामिछानेले आम जनतालाई भ्रमित पार्ने गरि भाषणबाजी गर्दै हिँडेका छन्। आफूविरूद्ध आएका प्रमाणलाई किर्ते भन्दै जनतामा भ्रम छरी राजनीति गरिराखेका छन्। न्याय सम्पादनको प्रक्रियालाई खलल पुर्याउने दुस्साहस गर्दैछन्। सम्बन्धित निकायको ध्यान जाओस्।” ढकालले लामिछानेलाई नैतिकताको प्रश्न उठाउँदै थपेका छन्, "पूर्व गृहमन्त्रीलाई त्यो शोभा दिँदैन।"
तपाईको प्रतिक्रिया दिनुहोस