Techie IT
२०८३ असोज १९, सोमबार

मैले पार्टी छाडेको छैन, २०२६ सालदेखिको कम्युनिस्ट आन्दोलन कसरी छोड्नु ? - वरिष्ठ नेता खनाल


नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले आफूले पार्टी नछाडेको प्रस्ट पार्दै कम्युनिस्ट आन्दोलनलाई वैचारिक रूपमा पुनर्गठन गर्ने उद्देश्यसहित ‘समाजवादी जागरण अभियान’ घोषणा गरेका छन् । काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै नेता खनालले नयाँ अभियानको औपचारिक घोषणा गरेका हुन् ।

नेता खनालले आफूले पार्टी परित्याग नगरेको र नेकपामै रहेर समाजवादी जागरण अभियान थालेको दाबी गरिरहेका छन् । २०२६ सालमा कम्युनिस्ट पार्टीको सदस्यता लिएको स्मरण गर्दै उनले भने, ‘मैले पार्टी छाडेको छैन, अहिले पनि म नेकपामै छु। २०२६ सालमा मैले पार्टी सदस्यता लिएको मान्छे, यो कम्युनिस्ट पार्टी किन छोड्छु र ? कहिल्यै छाड्दिनँ।’

साथै, पार्टीबाट निकाल्ने सम्भावनाबारे लक्षित गर्दै उनले भने, “त्यहाँका मान्छेहरूले मलाई निकाले भने बेग्लै कुरा भयो, हैन भने म त्यहाँ छु। समाजवादी जागरण अभियान नचलाई भएन भनेर यसमा सहमत भएका साथीहरूलाई लिएर यो सुरुआत गरिएको हो।” यदि पार्टीले यसैगरी अगाडि बढ्ने कुरामा सहमति जनाए राम्रो हुने, नभए भिन्न ढङ्गले पनि जान सकिने उहाँको संकेत छ।

नेता खनालका अनुसार यो अभियान कुनै पार्टी फुटाउन नभई कम्युनिस्ट आन्दोलनमा हाबी भएको दक्षिणपन्थी अवसरवादलाई हटाउन, क्रान्तिकारी कार्यदिशा र सिद्धान्त अघि बढाउन तथा नेपाली विशेषताको समाजवाद स्थापनाका लागि कम्युनिस्टहरूलाई एकताबद्ध बनाउन चालिएको वैचारिक जागरण हो।

शनिबार सम्पन्न भेलाबाट पारित निर्णयहरू आज सार्वजनिक गरिएको हो। यस अभियानमा नेता खनाललाई हरिबोल गजुरेल, महेश्वर दाहाललगायतका नेताहरूको प्रमुख साथ रहेको छ। विभिन्न पार्टीमा रहेका साथीहरू पनि यो अभियानमा संलग्न भइरहेको नेता खनालको भनाइ छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट