Techie IT
२०८३ असोज १८, आइतबार

पार्टीभित्र निष्ठालाई प्राथमिकता दिएको भए कांग्रेसमै हुन्थे : सभापति लामिछाने


राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नेपाली कांग्रेसको इतिहास नै उसको सबैभन्दा ठूलो शक्ति र सँगसँगै प्रमुख कमजोरी पनि भएको टिप्पणी गरेका छन्। काठमाडौंको खुलामञ्चमा आयोजित नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले कांग्रेसले आफ्नो परम्परागत निष्ठा र समावेशी चरित्र कायम राख्न नसक्दा वैचारिक विचलन आएको बताएका छन् ।

कांग्रेसले पार्टीभित्र निष्ठालाई प्राथमिकता दिएको भए आफू पनि कांग्रेसमै हुनेथिए भन्ने संकेत गर्दै सभापति लामिछानेले भने, “कांग्रेसको सबैभन्दा ठूलो शक्ति इतिहास हो, तर तपाईंहरूको ठूलो कमजोरी पनि यही इतिहास नै बनेको छ। यदि निष्ठालाई महत्त्व दिएको भए, अवसरवादीलाई भन्दा निष्ठावानलाई प्राथमिकता दिएको भए म पनि सायद कांग्रेस नै हुन्थेँ होला।”

सम्बोधनका क्रममा लामिछानेले विगतमा हुने गरेका दलीय गठबन्धन र आफ्ना कार्यकर्तालाई रूख चिह्नबाहेक अरूमा नै भोट हाल्न बाध्य पार्ने प्रवृत्तिले पार्टीप्रति जनवितृष्णा बढाएको उल्लेख गरे। उनले कांग्रेसलाई अब इतिहासको ब्याज मात्र खाएर नबसी निष्ठा, सिद्धान्त र नयाँ पुस्ताको मूल्य-मान्यतामा फर्किन सुझाव दिएका छन् ।

वर्तमान सरकारका बारेमा चर्चा गर्दै रास्वपा सभापति लामिछानेले बालेन शाह नेतृत्वको सरकार नढल्ने दाबी गरेका छन् । सरकार कहिले दसैँ, कहिले तिहार त कहिले विभिन्न पर्वमा ढल्छ भन्नेहरूलाई कडा व्यङ्ग्य गर्दै उनले भने, “सरकार ढल्छ-ढल्छ भन्नेहरू नै यो सरकार नढलेको देखेर बेहोस भएर ढल्छन्।”



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट