पूर्व सभामुख दमननाथ ढुंगानालाई राष्ट्रिय सम्मानका साथ अन्तिम बिदाइ गरिने, आज सार्वजनिव विदा
पूर्व सभामुख दमननाथ ढुंगानाको राष्ट्रिय सम्मानका साथ अन्तिम बिदाइ गरिने भएको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले ढुंगानालाई राष्ट्रिय सम्मान प्रदान गर्दै बिदाइ गर्ने निर्णय गरेको हो।
यसै क्रममा, बैठकले ढुंगानाको सम्झनामा सोमबार सार्वजनिक बिदा दिने निर्णय पनि गरेको छ।
सरकारका प्रवक्ता पृथ्वी सुब्बा गुरुङका अनुसार बैठकले ढुंगानाको निधनप्रति गहिरो शोक व्यक्त गर्दै परिवारप्रति समवेदना प्रकट गरेको छ। स्वदेश र विदेशमा रहेका सबै सरकारी कार्यालयमा राष्ट्रिय झण्डा आधा झुकाइने निर्णय पनि गरिएको छ।
प्रधानमन्त्री केपी शर्मा ओली सानो गौचरणमा आयोजना गरिने ढुंगानाको श्रद्धाञ्जली कार्यक्रममा सहभागी हुनेछन्। स्वर्गीय ढुंगानाका श्रीमती, दुई छोरा र एक छोरी छन्।
ढुंगानाको आइतबार दिउँसो ८३ वर्षको उमेरमा उपचारको क्रममा निधन भएको थियो। सोमबार बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म उनको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि सानो गौचरणमा राखिने पारिवारिक स्रोतले जनाएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस