Techie IT
२०८३ जेष्ठ १०, आइतबार

नरहरिनाथका किसानको पीडा: उत्पादनको घ्यू घरमै थन्कियो


कालीकोटको नरहरिनाथ गाउँपालिकाका किसानले उत्पादन गरेको घ्यूले बजार पाउन सकेको छैन । त्यहाँका किसानले पुस्तौदेखि पशुपालन गर्दै आएका छन् ।     
    
नरहरिनाथ गाउँपालिकाका वडा नं ९ लालुका भैँसीपालक किसान रजबहादुर शाहीले आफूहरूले उत्पादन गर्ने दूध, दही र घ्यूूले बजार पाउन नसकेको बताए । “मैले जन्मेदेखि नै भैँसीपालन गर्दै आएको छु । विगतमा हामीले उत्पादन गरेको घ्यू बर्दियाको राजापुर र कैलालीको चिसापानी बजारमा लगेर बेच्ने गरेका थियौँ तर बजारमा आउने नयाँ, नयाँ आधुनिक तेलहन वस्तुका कारणले पनि घ्यूको महत्व घटेको होला, अचेल बिक्री हुँदैन”, उनले भने ।     
    
यस क्षेत्रमा प्रशस्त चरिचरन क्षेत्र भएका कारण अधिकांश परिवारले पशुपालन गर्ने गरेको तर दुग्धजन्य उत्पादनले बजार नपाउँदा समस्या भएको वडा नं ७ का किसान रामबहादुर बटालाले गुनासो गरे । “बजार अभावमा स्थानीयले उत्पादन गरेको घ्यू घरमै थन्किने गरेको छ”, उनले भने, “दूध बिक्री नहुने भएकाले घ्यू बनाउनु यहाँका किसानको बाध्यता छ । अब त्यही पनि बिक्री नभएपछि के गरेर जीविकोपार्जन गर्नु ।”     
    
गाउँपालिका–५ रुप्साका कृषक रणबहादुर सहकारीले सबैको घरमा पशुपालन हुने भएकाले स्थानीयस्तरमा उत्पादन बिक्री नहुने र बाहिर पनि खासै बजार व्यवस्थापन गर्न नसकिएको बताए ।     
    
गाउँपालिका पशु सेवा शाखा प्रमुख कटकबहादुर बुढाले पनि यहाँका अधिकांश किसानले गाईभैँसी पालन गरिरहेकाले बजार पाउन कठिनाइ भएको बताए । गाउँपालिकाका पूर्वअध्यक्ष धीरबहादुर विष्टले स्थानीय उत्पादनको बजारका लागि पालिकाले नै व्यवस्थापन गर्न जरूरी रहेको बताएका छन् ।     
    
गाउँपालिका उपाध्यक्ष कमलबहादुर शाहले गाउँपालिकाले पशुपालन गर्ने किसानका लागि प्रोत्साहन दिने गरेको र यहाँ उत्पादन हुने दुग्धजन्य वस्तुको बिक्रीका लागि पहल थालिएको जानकारी दिएका छन् । 

“पशुपालन क्षेत्र बढाउनका लागि गाउँपालिकाले विशेष योजना ल्याएर काम गरिरहेको छ, हाल पशुपालक किसानलाई मासिक रु एक हजार प्रोत्साहन भत्ताको व्यवस्था गरिएको छ । अब उत्पादनको बजार व्यवस्थापनमा लाग्छौँ”, उनले भने,“पालिकाले यहाँ उत्पादन हुने दुग्धजन्य वस्तुको बजारको खोजी रहेको छ । जुम्ला र हुम्ला जिल्लामा पठाउने विषयमा छलफल भइरहेको छ ।”



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट