दिल्लीमा धरपकड: विमानस्थलबाटै पक्राउ परे सीजेपी शीर्ष नेता, राठी पनि नियन्त्रणमा
भारतको मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामा र विशेष गहन पुनरावलोकन (एसआईआर) रोक्न माग गर्दै जन्तर मन्तरमा प्रदर्शन गर्न पुगेका ककरोच जनता पार्टी (सीजेपी) का नेताहरूलाई प्रहरीले विमानभित्रैबाट नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेहरूमा सीजेपीका संस्थापक अभिजित दीपके, आशुतोष रांका र सौरव दास रहेका छन्।
यसैगरी, प्रदर्शनलाई समर्थन गरेका चर्चित युट्युबर तथा राजनीतिक टिप्पणीकार ध्रुव राठीलाई पनि शनिबार बिहान हरियाणाको गुरुग्रामस्थित निवासबाटै पक्राउ गरिएको छ। राजधानीका विभिन्न स्थानबाट सीजेपीका ६०० भन्दा बढी समर्थकहरूलाई नियन्त्रणमा लिइएको छ।
पार्टीकी कानुनी मामिला प्रमुख रत्ना सिंहले प्रहरीले आफ्नो घर घेरेर बाहिर निस्कन नदिएको भिडियो सार्वजनिक गरेकी छन्। माथिबाट आदेश आएको भन्दै प्रहरीले उनलाई घरमै बस्न बाध्य पारेको छ।
प्रदर्शनलाई रोक्न दिल्ली र आसपासको क्षेत्रमा सुरक्षा व्यवस्था अत्यन्तै कडा पारिएको छ। नयाँ दिल्ली क्षेत्रमा सभा तथा प्रदर्शन रोक्न भारतीय नागरिक सुरक्षा संहिताको धारा १६३ (निषेधाज्ञा) लागू गरिएको छ। करिब ४३ हजार सुरक्षाकर्मी परिचालन गरिनुका साथै विभिन्न स्थानमा सडक अवरोध र केही मेट्रो स्टेसन तथा मोबाइल इन्टरनेट सेवासमेत अस्थायी रूपमा बन्द गरिएको छ।
सीजेपीको यो प्रदर्शनलाई 'ककरोच आन्दोलन'को दोस्रो चरण मानिएको छ। राहुल गान्धी नेतृत्वको कंग्रेससहित विपक्षी दलहरूले पनि मतदाता नामावलीमा अनियमितता गरी सत्ताधारी दललाई लाभ पुर्याइएको आरोप लगाउँदै आएका छन्। सीजेपीले ध्रुव राठीसहित आफ्ना समर्थकहरूको गिरफ्तारीलाई सरकारको दमनकारी कदम भन्दै तत्काल बिनासर्त रिहाइको माग गरेको छ।



तपाईको प्रतिक्रिया दिनुहोस