वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टीको पहिलो राष्ट्रिय सम्मेलन असोजमा
विश्वभक्त दुलाल आहुति नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टीले आफ्नो पहिलो राष्ट्रिय सम्मेलन आगामी असोज ३ देखि ५ गतेसम्म काठमाडौंमा आयोजना गर्ने भएको छ ।
"नयाँ युगको नयाँ कम्युनिष्ट आन्दोलन अगाडि बढाऔँ। वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी नेपालको प्रथम राष्ट्रिय सम्मेलन सफल पारौँ" भन्ने नाराका साथ आयोजना हुन लागेको यस सम्मेलनको तयारी अन्तिम चरणमा पुगेको पार्टीकी नेता धनकुमारी सुनारले जानकारी दिइन्।
सुनारका अनुसार, पार्टीको पहिलो राष्ट्रिय भेला विसं २०७८ चैतमा सम्पन्न भएको थियो। उक्त भेलाले पारित गरेको समानान्तर वैज्ञानिक समाजवादी राजनीति, अर्थतन्त्र र संस्कृति निर्माणको कार्यदिशामा प्रारम्भिक फड्को मार्दै दुई वर्षपछि अहिले प्रथम राष्ट्रिय सम्मेलन हुन लागेको हो।
सम्मेलनको उद्घाटन सत्र भृकुटीमण्डपमा जनप्रदर्शनसहित हुनेछ भने ४ र ५ गते बन्द सत्र भक्तपुरको बोडेमा आयोजना गरिनेछ। सम्मेलनमा ७७ वटै जिल्लाका प्रतिनिधि तथा सबै उत्पीडित वर्ग एवं समुदायको निर्णायक प्रतिनिधित्व हुने नेता सुनारले बताइन्।



तपाईको प्रतिक्रिया दिनुहोस