‘भाइरल म्यान’ दुर्गा प्रसाईंविरुद्ध मुद्धा दर्ता, साढे सात वर्ष कैद सजाय माग

मेडिकल व्यवसायी तथा सामाजिक सञ्जालमा ‘भाइरल म्यान’का नामले चर्चित दुर्गा प्रसाईंविरुद्ध विद्युतीय कारोबार ऐन–२०६३ अन्तर्गत अभियोग दर्ता भएको छ। साइबर ब्युरोको अनुसन्धान प्रतिवेदनका आधारमा काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयले बुधबार जिल्ला अदालतमा अभियोगपत्र दायर गरेको हो।
मंसिर ४ मा पक्राउ परेका प्रसाईंमाथि विद्युतीय कारोबार ऐनको दफा ४७ को उपदफा (१) अनुसार कसुरमा सजायको माग गरिएको छ। साथै, उपदफा (२) अन्तर्गत थप सजाय मागिएको छ।
सरकारी वकिल कार्यालयका न्यायाधिवक्ता खडिन्द्रराज कटुवालका अनुसार यसअघि पनि प्रसाईंविरुद्ध मुद्दा चलेकाले कानूनी व्यवस्थाअनुसार बढी सजाय माग गर्दै साढे सात वर्ष कैद सजाय दाबी गरिएको हो।
प्रसाईंले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध फर्जी कागजात र भिडियो सामाजिक सञ्जालमा अपलोड गरेको आरोप छ।
प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार, भारतीय गुन्डा नाइके लरेन्स विश्नोइको नाममा नेपालका व्यवसायीलाई धम्क्याउने कार्य प्रसाईंको निर्देशनमा भएको पाइएको छ। कम्बोडियाको टेलिकममा प्रधानमन्त्री ओलीले लगानी गरेको अफवाह फैलाएको आरोपमा पनि उनी पक्राउ परेका थिए।
पहिलो पटक साइबर अपराध कसुरमा असोज ६ गते पक्राउ परेका प्रसाईं ९ दिन हिरासतमा बसेर धरौटीमा छुटेका थिए। विवादास्पद अभिव्यक्ति र गतिविधिका कारण चर्चामा रहेका प्रसाईं यसअघि पनि कानूनी समस्यामा पर्दै आएका थिए।
प्रसाईंमाथि संगठित अपराधको आरोपमा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले समेत अनुसन्धान गरिरहेको छ। उनी अहिले सीआईबीको हिरासतमा छन्। सरकारी वकिल कार्यालयले प्रतिवेदनको आधारमा अदालतमा मुद्दा दर्ता गरेपछि प्रसाईंले थप कानूनी संकटको सामना गर्नुपर्ने देखिएको छ।
तपाईको प्रतिक्रिया दिनुहोस