कास्की जिल्ला अदालतमा रवि लामिछाने उपस्थित गराइँदै

कास्की प्रहरीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई आज कास्की जिल्ला अदालत उपस्थित गराइँदै छ।
गत कात्तिक २ गते काठमाडौँबाट पक्राउ परेका लामिछानेविरुद्ध सहकारी ठगी, सम्पत्ति शुद्धीकरण र सङ्गठित अपराधको अभियोगमा अनुसन्धान भइरहेको छ। पछिल्लो पटक थपिएको चार दिनको म्याद आज समाप्त हुँदै भएकाले पुनः म्याद थपका लागि अदालत उपस्थित गराउन लागिएको हो।
कास्की प्रहरीका अनुसार अनुसन्धान प्रतिवेदन तयार गर्ने प्रक्रिया तीव्र रुपमा भइरहेको छ। कास्कीका एसपी श्यामबाबु ओलियाले अनुसन्धान अधिकृतहरूले प्रतिवेदन तयार गरिरहेको जानकारी दिएका छन्। प्रतिवेदन कम्तीमा सात दिनभित्र जिल्ला सरकारी वकिल कार्यालयमा बुझाउने तयारी भइरहेको छ।
नेपाल प्रहरीले सूर्यदर्शन सहकारीसहित चारवटा सहकारीमार्फत गोरखा मिडिया नेटवर्कमा ६५ करोडभन्दा बढी रकम अपचलन भएको ठहर गरेको छ। लामिछानेसँगै पूर्व डीआईजी छविलाल जोशी, लिला पछाई, राम बहादुर खनाल र कृष्ण गुरुङ प्रहरी हिरासतमा छन्। बाँकी ३५ जनालाई फरार प्रतिवादीको सूचीमा राखी मुद्दा अघि बढाउने तयारी गरिएको छ।
लामिछानेले आफ्नो बयानमा सूर्यदर्शन सहकारीसँग कुनै पनि प्रकारको सम्बन्ध नरहेको दाबी गरेका छन्। उनले सहकारीको कुनै पनि पदमा आफू नरहेको र त्यहाँबाट ऋण नलिएको बताएका छन्। उनले गोर्खा मिडियामा १ करोड ८० लाखको सेयर लिएको तर त्यो सेयर पारिश्रमिकमा कटौती हुने सहमति भएको बयान दिएका छन्।
संसदीय छानबिन समितिले सूर्यदर्शन सहकारीबाट ५ करोड ५८ लाख गोरखा मिडिया नेटवर्कमा लगेको र त्यो रकम अपचलन भएको निष्कर्ष निकालेको थियो।
तपाईको प्रतिक्रिया दिनुहोस