एनपिएलः काठमाडौँ गुर्खाजको शानदार जित, प्लेअफ नजिक

नेपाल प्रिमियर लिग (एनपिएल)को आज भएको पहिलो खेलमा काठमाडौँ गुर्खाजले पोखरा एभेञ्जर्सलाई छ विकेटको अन्तरले पराजित गर्दै प्लेअफ स्थान नजिक पुगेको छ।
त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा पोखराले दिएको १३९ रनको लक्ष्य काठमाडौँले १४.१ ओभरमै चार विकेटको क्षतिमा पूरा गर्यो। काठमाडौँको जितमा स्टेफन स्किनाजी नायक सावित भए। उनले ३४ बलमा १० चौका प्रहार गर्दै ६० रनको उत्कृष्ट योगदान दिए।
माइकल लेभिटले ३२ रन, गेर्हार्ड एरासमुसले अविजित २५ रन, र भीम सार्कीले २२ रन बनाए। पोखराका लागि विपीन खत्रीले तीन विकेट लिए भने मिचेल लेस्कीले एक विकेट हात पारेका थिए ।
यसअघि, टस हारेर पहिला ब्याटिङ गरेको पोखराले २० ओभरमा ८ विकेट गुमाउँदै १३८ रन बनाएको थियो।
रेमन रेफरले ३० बलमा तीन छक्का र एक चौकासहित ४१ रनको योगदान दिए। दिनेश खरेलले ३८ रन र दिलीप नाथले २७ रन बनाए। तर, अन्य खेलाडीले दोहोरो अंक जोड्न सकेनन्।
पोखराका कप्तान कुशल भुर्तेल सात रनमा आउट भए भने सागर ढकाल र माइकल लीस्कले समान १–१ रन मात्र जोडे।
काठमाडौँको बलिङ दबदबा
काठमाडौँका कप्तान करण केसी र रासिद खानले उत्कृष्ट प्रदर्शन गर्दै तीन–तीन विकेट लिए। गेर्हार्ड एरासमुस र माइकल लेभिटले समान १–१ विकेट हात पारेका थिए ।
आजै हुने दोस्रो खेलमा चितवन राइनोज र जनकपुर बोल्ट्स प्रतिस्पर्धा गर्दैछन्।
तपाईको प्रतिक्रिया दिनुहोस