Techie IT
२०८२ चैत्र ३, मंगलबार

तिब्बत भूकम्प: ३६ को मृत्यु, नेपालमा क्षतिको विवरण संकलन हुदैँ

सन् २००८ को सिचुआन भूकम्पपछिको यो क्षेत्रको ठूलो प्राकृतिक विपत्ति भएको जनाइएको छ


तिब्बतको सिगात्से सहरलाई केन्द्रबिन्दु बनाएर गएको ६.८ म्याग्निट्यूड (चीनको भूकम्प नेटवर्क केन्द्रले ६.८ तीव्रता मापन) को शक्तिशाली भूकम्पले चीनमा ३६ जनाको ज्यान लिएको छ । चिनियाँ सरकारी टेलिभिजन सीसीटीभीका अनुसार केही घरहरू भत्किएका छन् भने मानिसहरू भागेर सडकमा निस्किएका थिए ।

भूकम्पको धक्का नेपाल, भारत, र भुटानमा समेत महसुस गरिएको थियो । नेपालका उत्तरी जिल्लाहरूमा कुनै क्षति भएको विवरण भने हालसम्म प्राप्त भएको छैन ।

चीनको सरकारी सञ्चारमाध्यमले भूकम्पको केन्द्र सिगात्से सहरको दिङ्गी गाउँ भएको जनाएको छ । नेपाली समय अनुसार बिहान ६:५० बजे महसुस गरिएको यो भूकम्प १० किलोमिटर गहिराइमा गएको थियो ।

सिगात्से क्षेत्रका पसल र घरहरू भत्किएको भिडिओहरू सामाजिक सञ्जालमा देखिएका छन् । यो क्षेत्रमा पछिल्लो पाँच वर्षमा ३ म्याग्निट्यूडभन्दा माथिका २९ वटा भूकम्प गइसकेको र यसपटकको भूकम्प सबैभन्दा शक्तिशाली भएको चीनको भूकम्प नेटवर्क केन्द्रले जनाएको छ ।

नेपालमा असर
नेपालको भूकम्प मापन केन्द्रले यो भूकम्पलाई ७ म्याग्निट्यूडको रहेको जनाएको छ। काठमाडौँसहित देशका विभिन्न ठाउँमा कम्पन महसुस गरिए पनि कुनै क्षति भएको छैन । 

सोलुखुम्बुका खुम्बु गाउँपालिकाका अध्यक्ष लक्ष्मण अधिकारीले स्थानीयहरूलाई जानकारी लिँदा क्षतिको विवरण नरहेको बताएका छन् । हिमाली क्षेत्रका गोक्यो र इम्जा तालजस्ता ठूलो खतरामा रहने क्षेत्र पनि सुरक्षित रहेको अधिकारीले जनाए ।

भारत र भुटानमा पनि महसुस
भारतीय सञ्चारमाध्यमहरूले बिहार, पश्चिम बङ्गाल र दिल्लीमा समेत भूकम्पको धक्का महसुस गरिएको जनाएका छन् । भुटानको राजधानी थिम्पूमा पनि कम्पन अनुभव गरिएको छ ।

चिनियाँ अधिकारीहरूले राहत र उद्धार कार्य तीव्र बनाउँदै क्षतिको पूर्ण विवरण संकलन गरिरहेका छन् । सन् २००८ को सिचुआन भूकम्पपछिको यो क्षेत्रको ठूलो प्राकृतिक विपत्ति भएको जनाइएको छ ।

भारतीय र तिब्बती प्लेटको टकरावका कारण हिमालय क्षेत्र भूकम्पका लागि संवेदनशील रहेको भूगर्भविद्हरूले बताएका छन् । यद्यपि तिब्बतीय भूभागका भूकम्पको प्रकृति नेपालतर्फ हुने भूकम्पभन्दा फरक रहेको उनीहरूको भनाइ छ ।

नेपालको विपद् जोखिम न्यूनीकरण प्राधिकरणले सम्भावित असर भएका सात जिल्लाबाट विवरण सङ्कलन भइरहेको जनाएको छ ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट