भरतपुरमा प्रहरीद्वारा कुटपिटको भिडियो भाइरल, छानबिन सुरु

भरतपुरको बाइपास रोड क्षेत्रमा रातको समयमा एक व्यक्तिमाथि प्रहरीबाट कुटपिट भइरहेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि प्रहरी प्रशासनले घटनाबारे छानबिन थालेको छ ।
चितवनका प्रहरी प्रमुख एसपी गौतम मिश्रले उक्त भिडियोका सम्बन्धमा अनुसन्धान सुरु गरिएको बताएका छन् । मिश्रले सामाजिक सञ्जालमा भाइरल बनेको भिडियोमा देखिएको घटनाबारे सत्यतथ्य पत्ता लगाउन प्रहरी टोली सक्रिय रहेको जानकारी दिए ।
भिडियोमा रातको समयमा एक प्रहरीले मोटरसाइकलको लाइसेन्स चेक गर्ने बहानामा एक व्यक्तिलाई सडकपेटी छेउमा बुटले पटक–पटक कुटिरहेको देखिन्छ। उक्त व्यक्तिले सेतो सर्ट लगाएको देखिन्छ भने कुटपिटकै क्रममा 'कसलाई फोन गर्छस् गर' भन्ने आवाजसमेत सुनिन्छ।
घटनाबारे एसपी मिश्रले भने, "भिडियो सार्वजनिक भएपछि सम्बन्धित प्रहरी र घटनास्थलको पहिचान गर्ने कार्य भइरहेको छ । घटनाको सत्यतथ्य पहिचान गरेर दोषी प्रहरीमाथि प्रहरी ऐनअनुसार कारबाही गरिनेछ ।"
सो घटनाले सामाजिक सञ्जाल प्रयोगकर्ताहरूको ध्यान तानेको छ। धेरैले घटनाको विरोध गर्दै पीडितलाई न्याय दिन माग गरेका छन् ।
तपाईको प्रतिक्रिया दिनुहोस